कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्ने, सहभागी सबैमा पीसीआर परीक्षण अनिवार्य


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो दुई बजे बैठक बोलाएको जानकारी दिए।

बैठकमा सहभागी हुन सोमबार केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरिएको छ। मुख्य सचिवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिको २०७८ बैशाख १३ गते बस्‍ने भनिएको वैठक पीसीआर परीक्षणका कारण स्थगित भएकोमा उक्त बैठक २०७८ बैशाख १५ गते दिनको २बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा वस्‍ने भएको हुँदा पदाधिकारीज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू एवं आमन्त्रीत सदस्यज्यूहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।’

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ। महाधिवेशनका लागि पार्टीको गाउँ(नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ(नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ।

प्रधानमन्‍त्री केपी ओलीको विकल्प खोज्‍ने संस्थागत निर्णय गरेको कांग्रेस अझै पनि पर्ख र हेरको रणनीतिमा छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार अपरान्ह बोलाएको पदाधिकारी बैठकले वैकल्पिक सरकार निर्माणका लागि अझै परिस्थिति अनुकुल र परिपक्क भइनसकेको निश्कर्ष निकालेको छ।

 

प्रतिक्रिया