

पूर्वराजा ज्ञानेन्द्र दम्पत्तीलाई अक्सिजन दिएर उपचार, छोरीलाई दिनु परेको छैन

काठमाडौं– कोरोनाभाइरस सङ्क्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजदम्पतीलाई अक्सिजन दिएर राखिएको अस्पतालले बताएको छ।
‘उहाँहरू [पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह] दुवै जनालाई अक्सिजनको सपोर्ट दिइएको छ,’ अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने।
‘हिजो [शनिवार] ज्वरो र छाती दुख्ने समस्या देखिएको थियो। आज ज्वरो छैन र छाती दुख्ने समस्या पनि कम भएको छ। लक्षणहरू कम हुँदै गएको छ।’
बास्तोलाका अनुसार पूर्वराजा शाहकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनुपरेको छैन र उनको अवस्था आमाबुवाको जस्तो छैन।
उनीहरू अस्पताल बस्नुपर्ने समयावधिबारे जिज्ञासा राख्दा बास्तोलाले भने, ‘नेगेटिभ रिपोर्ट नआएसम्म उहाँहरू बस्नुहुन्छ। कति दिन बस्नुपर्छ भन्ने कुरा अहिले भन्न सकिन्न।’
उनका सहयोगी फणिराज पाठकका अनुसार चिकित्सकहरूको सल्लाहअनुसार पूर्वराजदम्पती र छोरी प्रेरणा शनिवार दिउँसो १ बजेदेखि अस्पताल भर्ना भएका हुन्।
भारतमा कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्वराजदम्पतीमा गत मङ्गलवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
पाठकले बताएअनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वराजदम्पती निर्मल निवासमै आइसोलेसनमा बस्दै आएका थिए।
भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर गत आइतवार उनीहरू नयाँ दिल्लीबाट नेपाल फर्किएका थिए।
कुम्भमेलामा गङ्गास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए।
भारतमा कुम्भमेलामा सहभागी सयौँ मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।
पूर्वराजाले नेपाल फर्किनुअघि नयाँ दिल्लीमा परीक्षण गराएको तर त्यतिबेला सङ्क्रमण नदेखिएको उनीसँगै यात्रा गरेका उनका सचिव पाठकले यसअघि बीबीसीलाई बताएका थिए।
हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले उनको त्यहाँ परीक्षण भएको थियो।
नेपाल फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र एउटा विज्ञप्ति जारी गरी हरिद्वारमा आफूले पाएको “विशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति” निरञ्जन पीठका पीठाधीश कैलाशानन्द गिरी तथा समस्त सन्तमहात्माप्रति कृतज्ञता व्यक्त गरेका थिए।
उनी निरञ्जन पीठका पीठाधीको निम्तोमा कुम्भमेलामा सहभागी हुन हरिद्वार गएका थिए। -बीबीसी

