


वरिष्ठ नेता खनालसहित ‘फ्लोर क्रस’ गर्ने चारले बुझाए स्पष्टीकरण

काठमाडौं – नेकपा (एमाले)का नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । ओलीले सांसद पदबाट किन कारवाही नगर्ने भन्ने सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ पार्टी कार्यालयमा बुझाएको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताएका हुन् ।
रिजालका अनुसार खनालसहित नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठले स्पष्टीकरण बुझाएका छन् । त्यस्तै कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा फ्लोर क्रस गरेका चारै जना प्रदेश सभा सदस्य अमरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र देवी वलीले स्पष्टीकरणको जवाफ दिएका छन् ।
बिहीबार स्पष्टीकरणको जवाफ पठाउने अन्तिम दिन भए पनि केहीले मात्र जवाफ पठाएका हुन् । यही वैशाख ६ गते बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लङ्घन गरेको आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको थियो ।
केहीलाई दुई दिन र केहीलाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न भनिएको थियो । पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको पत्र वैशाख ७ गते ती नेतालाई पठाइएको थियो ।
उनीहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम सङ्घीय सांसद र प्रदेश सभा सदस्यलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको थियो ।
यस्तै एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक पनि बस्ने भएको छ । यही वैशाख ६ गतेदेखि शुरु भएको बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भएको कार्यालय सचिव रिजालले जानकारी दिए ।

