डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ


डोल्पा – जिल्ला कारागार कार्यालय डोल्पाबाट केही समयअघि फरार भएका दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

कारागारबाट लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गत कात्तिक १४ गते कारागारबाट फरार भएका कैदीहरूको व्यापक खोजतलास गर्ने क्रममा प्रहरीले उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा फेला पारेको हो। सोही वडाका स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसेको गोपनिय सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ पर्नेमा कालीप्रसाद रोकाय र कैलाश भनिने कपिल परियार रहेको जनाइएको छ । यसअघि प्रहरीले रूकुमबाट २ जनालाइ पक्राउ गरेको थियो । डोल्पा कारागारबाट सुरूङ खनी ८ जना कैदी भागेका थिए ।

कारागारबाट कैदी फरार भएको गम्भीर घटनापछि सुरक्षा निकायले उनीहरूको खोजीकार्यलाई तीब्र बनाएको थियो। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिइ यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया