

‘हो कमरेड ! म जमिन्दारको घरमा १८ वर्ष भाँडा माझेर बिताएकी हुँ’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद शान्ता चौधरीले नेता माधव नेपालप्रति आफूले अपमान गरेको भन्ने भनाईको खण्डन गरेकी छिन् । उनले पार्टी कार्यकर्ताकै हिसाबले आफूले नेता नेपाललाई अनुरोध गरेको बताएकी छिन् ।
चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले माधव नेपालको तिरस्कार नगरेको बताएकी छिन् ।
उनले अगाडि लेखेकी छिन्, ‘हो कमरेड ! म कमलरी थिएँ, जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ । यस बारे मैले धेरै बताई रहन पर्दैन तर म बिगतमा जति अपमानित भएँ, हेप्पिएँ सायद मुक्त भए पछि कहिल्यै अपमानित हुन पर्दैन, यही सोच्ने गर्थें । तर आज पनि मैले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल, मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ । त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ ।
शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पिडा कस्तो हुन्छ भन्ने अनुभुति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होईन उर्जा थपेको हुन्छ ।
कमरेडहरु ,
मैले कमरेड माधव नेपालको अपमान कहिले गरें ? एकपटक बताई दिनुहोस् न कमरेड ! मलाई संविधान सभाको सदस्य बनाउन वहाँले गरेको योगदानको तिरस्कार मैले कहिले गरें ? भनिदिनुहोस न कमरेड १ मेरो नेतालाई मैले अनुरोध गर्न पाउँछु कि पाउँदिन ? मैले धेरै जानेको छु , मार्क्सवादको ज्ञाता हो भन्ने म जस्तो सिकारुले कुनै दम्भ, घमण्ड गर्नु छैन र कहिल्यै गरेको पनि छैन । तर यत्ति हेक्का गर्दा हुन्छ कमरेड, आफुले जन्माएका आफ्ना सन्तान साना बालबालिकाका कुरा पनि बुवा आमाका निम्ति ज्ञानवर्दक हुन सक्छन ।
मलाई राजनीतिक मैदानमा ल्याएर अँखा खोलिदिने आदरणीय नेताको इतिहास सुनौलो देख्न चाहन्छु म । लामो समयसम्मको त्याग बलिदान र समर्पणको इतिहास मेटाउँदै राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा वहाँबाट कुनै गल्ती नगरे हुन्थ्यो भन्ने चाहन्छु म । नेकपा हुँदा त्यो विशाल पार्टीको महाधिवेशनबाट एक पटक अध्यक्ष बनाउने प्रगाढ इच्छा थियो, म र म जस्ता कयौं शुभचिन्तकको लाख बिन्ती सुन्न सक्नु भएमा त्यसमा दुस्ख लाग्छ मलाई ।
आज पनि पार्टी निर्माणको नेतृत्व गर्ने बाटो हिंड्नुहोस तर ध्वंसको होईन, एउटा श्रद्धा गरेको मेरो नेतालाई, आदरणीय मानेको मेरो नेतालाई लेखेर भन्छु, बोलेर भन्छु, चिच्याएर भन्छु ।’

