रसुवा बाढी अपडेटः १ हजार ४११ जनाको शव फेला, ५ हजार ८७५ अझै सम्पर्कबिहीन


काठमाडौं – रसुवामा आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा भएको विपद्का कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीबाट भएको मानवीय क्षति तथा उद्धारको पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो।

प्राधिकरणका अनुसार फेला परेका मृतकमध्ये ५४९ जना पुरुष र ३३६ जना महिला रहेका छन्। त्यस्तै, ५२६ वटा आंशिक मानव अंगसमेत फेला परेको विवरणमा उल्लेख छ। बाढीमा परेर अझै ५ हजार ८७५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।

बाढी तथा पहिरोबाट सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ। उपलब्ध विवरणअनुसार चितवनमा मात्रै ३६४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

त्यस्तै, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको मृत्यु भएको छ।

विपद्पछि जारी खोजी तथा उद्धार अभियानअन्तर्गत हालसम्म १३ हजार ७८४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा निकाय परिचालन गरी खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

उद्धार तथा राहत कार्यमा नेपाली सेनाले हालसम्म १ हजार ६९२ वटा हवाई उडान गरेको छ। यस्तै, सशस्त्र प्रहरी बलले ३२० वटा हवाई उडानमार्फत उद्धार तथा राहतसम्बन्धी कार्यमा सहयोग गरेको छ।

बाढीपछि प्रभावित जिल्लामा बेपत्ताको खोजी, मृतकको पहिचान तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। प्राधिकरणले संकलित विवरणलाई अद्यावधिक गर्दै जाने जनाएको छ।

 

प्रतिक्रिया