कप्तान सन्दीप लामिछानेको पाँच विकेटसहित बहराइनविरुद्ध नेपालकाे शानदार जित


काठमाडौं – कप्तान सन्दीप लामिछानेको पाँच विकेटसहित बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । नेपालले सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा बहराइनलाई ७ विकेटले पराजित गरेको हो ।

बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि अर्जुन कुमालले ३६ तथा रोहित पौडेलले अविजित १९ रन बनाए । बहराइनका इमरान जावेदले २ विकेट लिए भने नेपालको एक विकेट रनआउट भएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु टिक्न सकेन । कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिएपछि बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो ।

नेपालका ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए । बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ र अली दाउदले १० रन जोडे ।

१४औँ ओभरबाट बलिङमा आएका सन्दीपले पहिलो र चौथो बलमै विकेट लिएर बहराइनमाथि दबाब बढाएका थिए । उनले पाँचौँ ओभरमा थप एक विकेट लिए भने सातौँ र आठौँ ओभरमा एक–एक विकेट झार्दै आफ्नो पाँच विकेट पूरा गरे ।

नेपालले प्रतियोगिताको दोस्रो खेलमा बिहीबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया