बाढी र पहिरोका कारण देशभरका यी राजमार्ग अवरूद्ध, कुनको अवस्था कस्तो ?


काठमाडौं – बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीको विवरण अनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक खण्डहरू प्रभावित भएका छन् ।

बागमती प्रदेशका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको उच्च जोखिमका कारण यातायात प्रभावित भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, रसुवाको त्रिशूली–मैुलुङ–स्याफ्रुबेसी सडक खण्ड र नुवाकोटका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन् ।

विपी राजमार्ग (काभ्रे) र कान्ति लोकपथ (मकवानपुर) मा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

विपी राजमार्गमा साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म र कान्ति लोकपथमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी चलाउन निषेध गरिएको छ ।

नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न स्थानहरू (ज्वाङखोला, गल्छी, बैरेनी आदि) मा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ अर्को वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ ।

लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण यातायात ठप्प भएको छ । त्यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने जाजरकोट–डोल्पा सडक खण्ड पनि रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेश मार्ग नागढुङ्गा–मुग्लिन सडक भने हाल पूर्ण रूपमा सुचारु रहेको छ । यद्यपि, धादिङको बैरेनी बजारको १ किलोमिटर क्षेत्रमा भने सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया