बाढीपीडितको राहत र पुनर्निर्माणमा बीवाईडी–साइमेक्सको ७ करोड सहयोग


काठमाडौं — रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि बीवाईडी र नेपालस्थित आधिकारिक साझेदार साइमेक्स इंक प्रालिले ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। सरकारको आधिकारिक संयन्त्रमार्फत परिचालन हुने रकम बाढी प्रभावित नागरिकको उद्धार तथा उपचारसँगै राहत, पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा खर्च गरिनेछ।

हालैको विनाशकारी बाढीबाट रसुवा क्षेत्रमा ठूलो क्षति पुगेको छ। नेपाल–चीनबीचको महत्वपूर्ण व्यापारिक मार्गसमेत रहेको यस क्षेत्रमा सडक, पुल, बजार तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि जनजीवन प्रभावित भएको छ।

बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले विपत्तिबाट प्रभावित नेपाली नागरिकप्रति दुःख व्यक्त गर्दै कठिन समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाएका छन्।

उनले राहत र पुनर्स्थापनाका सरकारी प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय साझेदार साइमेक्ससँग मिलेर सहयोग घोषणा गरिएको बताए। सामूहिक प्रयासबाट प्रभावित परिवार तथा समुदायलाई पुनः सामान्य अवस्थामा फर्काउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा योगदान पुग्ने उनको भनाइ छ।

बीवाईडीका लागि नेपालमा साइमेक्स इंक प्रालि आधिकारिक वितरक तथा स्थानीय साझेदारका रूपमा कार्यरत छ।

प्रतिक्रिया