
सुरक्षित स्थानमा सर्न र उद्धारमा जुट्न देउवाको आह्वान
काठमाडौं – रसुवा हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नदी आसपासका बस्तीमा जोखिम बढेपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले त्यस क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाढीको असर नियन्त्रण र उद्धारमा जुट्न आह्वान गरेका हुन्।
‘रसुवादेखि नुवाकोट, धादिङ, चितवन लगायतका त्रिशूली नदी किनार क्षेत्रमा असर पुग्न सक्ने भएकाले समयमै सुरक्षित रहनुहुन आग्रह गर्दछु,’ उनले लेखेका छन्।
विपत्तिको यो समयमा राज्यका सम्पूर्ण सुरक्षा निकायहरूलाई द्रुत उद्धारमा परिचालन गर्न देउवाले माग गरेका छन्। त्यसैगरी स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार कार्यमा खटिन उनले दलीय कार्यकर्ता र नागरिक समाजलाई अपिल गरेका छन्।
‘यस विपत्तिमा नेपाली कांग्रेस लगायतका सम्पूर्ण पार्टी पंक्ति, युवा तथा नागरिक समाजलाई स्थानीय प्रशासनसँग समन्वय गरी आआफ्नो क्षेत्रमा उद्धारमा खटिनुहुन पनि अनुरोध गर्दछु,’ देउवाले भनेका छन्।



कागजपत्र |
