
कांग्रेस इतर समूहकाे सम्मेलन सम्पन्न, यस्ता छन् निष्कर्ष र निर्देशन
काठमाडौं – नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । भेलाका रूपमा सुरू भएको सम्मेलनले वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र पार्टी सङ्गठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने निष्कर्ष निकालेको छ।
साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनले नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देश, लोकतन्त्र र नेपाली कांग्रेसका लागि जीवन समर्पण गर्ने अग्रज नेता तथा पार्टी सदस्यहरूप्रति उच्च सम्मान प्रकट गरेको छ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य तथा पूर्वमहामन्त्री एवं भेला आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइरालाको सभापतित्वमा सम्पन्न सम्मेलनले पछिल्लो राजनीतिक परिस्थितिप्रति गम्भीर चासो व्यक्त गरेको हो।
सम्मेलनले विद्यार्थी सङ्गठन र ट्रेड युनियनमाथिको नियन्त्रण तथा निषेध, नागरिक स्वतन्त्रता र निजी क्षेत्रमाथि देखिएको प्रहारलगायतका गतिविधिले लोकतन्त्रमाथि चुनौती थपिएको निष्कर्ष निकालेको छ।
यस्तो परिस्थितिमा नेपाली कांग्रेसभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनको विषयलाई लिएर विवाद सिर्जना गरी पार्टीलाई दुई धारमा विभाजित गर्ने अवस्था उत्पन्न भएको सम्मेलनको ठहर छ।
महाधिवेशनसम्बन्धी विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको र सर्वोच्च अदालतको डिभिजन बेञ्चबाट फैसला भएको विषयलाई समेत सम्मेलनले समीक्षा गरेको छ।
सम्मेलनले सर्वोच्च अदालतको फैसला तत्काल स्वीकार गरिएको भए पनि आफूहरूले प्रस्तुत गरेका आधार–प्रमाणको पर्याप्त सम्बोधन नभएको तथा फैसला त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै उक्त मुद्दाको पुनरवलोकनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
सम्मेलनका अनुसार सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउन समय लागेका कारण सो अवधिमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नयाँ परिस्थिति अनुकूल कार्यदिशा तय गर्न पार्टीका विभिन्न तहमा जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताबाट राय–सुझाव लिन सातै प्रदेशमा भेला आयोजना गरेको थियो।
सातै प्रदेशमा सम्पन्न भेलाहरूले पार्टीभित्र देखिएको अन्योल र विवादको अवस्थालाई चिर्दै नेपाली कांग्रेसलाई स्पष्ट राजनीतिक तथा साङ्गठनिक दिशा दिन राष्ट्रिय भेला आयोजना गर्न निर्देशन दिएका थिए। सोही पृष्ठभूमिमा राष्ट्रिय सम्मेलन आयोजना गरिएको सम्मेलनले जनाएको छ।
राष्ट्रिय सम्मेलनले पार्टीको आन्तरिक एकता मजबुत बनाउँदै वर्तमान राजनीतिक चुनौतीको सामना गर्न सङ्गठनलाई थप सुदृढ र प्रभावकारी बनाउने आवश्यकता औँल्याएको छ। साथै लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय स्वाधीनता तथा संवैधानिक व्यवस्थाको संरक्षणका लागि नेपाली कांग्रेसलाई थप सक्रिय र जिम्मेवार भूमिकामा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



कागजपत्र |




