कांग्रेस भेलाको मञ्च तथा हल व्यवस्थापनको जिम्मेवारी महामन्त्री राजु श्रेष्ठलाई


काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्री तथा युवा नेता राजु श्रेष्ठले अर्को सातादेखि सुरू हुने राष्ट्रिय भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन मञ्च तथा हल व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पाएका छन् ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले श्रेष्ठलाई मञ्च तथा हल व्यवस्थापन समितिको संयोजकमा मनोनयन गरेका हुन् ।

काठमाडौंमा यही साउन २९ देखि ३१ गते अर्थात आउने शुक्रबारदेखि आइतबारसम्म आयोजना हुने नेपाली कांग्रेसको राष्ट्रिय भेलाको तयारी तीव्र भइरहेका बेला श्रेष्ठलाई भेलाको महत्वपूर्ण व्यवस्थापकीय जिम्मेवारी दिइएको हो।

डा. कोइरालाले दिएको जिम्मेवारीलाई पूर्णरूपमा पूरा गर्ने विश्वास लिँदै श्रेष्ठले पार्टीले गरेको विश्वासलाई सफलताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । भेलामा देशभरबाट कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहने भएकोले भेलामा उक्त भेलाको मञ्च, कार्यक्रम सञ्चालन तथा हल व्यवस्थापनलाई महत्वपूर्ण मानिएको छ।

जिम्मेवारी पाएपछि बागमती प्रदेशका महामन्त्री तथा युवा नेता राजु श्रेष्ठले राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले आफूलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिँदै भेलालाई व्यवस्थित, भव्य र सफल बनाउन आफ्नो तर्फबाट पूर्ण प्रयास गर्ने बताएका छन्।

‘राष्ट्रिय भेलाको मञ्च तथा हल व्यवस्थापन समितिको संयोजकको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएकोमा आदरणीय नेता तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. कोइराला ज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। ममाथि राख्नुभएको विश्वासलाई जिम्मेवारीपूर्वक निर्वाह गर्दै राष्ट्रिय भेलालाई व्यवस्थित र सफल बनाउन आफ्नो सम्पूर्ण प्रयास रहनेछ,’ श्रेष्ठले भने।

पार्टीभित्र युवा पुस्तामाझ सक्रिय नेताका रूपमा परिचित श्रेष्ठलाई राष्ट्रिय स्तरको महत्वपूर्ण कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइनुलाई उनको संगठनात्मक क्षमता र व्यवस्थापकीय भूमिकामाथि आयोजक समितिले गरेको विश्वासका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया