

इन्डीया वानः क–कसले गरे इन्काउन्टर, को–को बिख्यात गुन्डा मारिए?
नेपाल प्रहरीको अपराध महाशाखा स्थापनादेखि अहिलेसम्म कस–कसले गरे नेतृत्व?

काठमाडौं– नेपाल प्रहरीमा पहिले ‘काठमाडौं प्रहरी’ मातहत रहेको ‘केरकार शाखा’ २०५० सालपछि उपत्यका अपराध अनुसन्धान शाखा हुँदै अहिले महानगरीय प्रहरी अपराध महाशाखाका नाममा चर्चित छ। प्रहरी सम्बन्धी जानकार तथा पुराना पुस्ताले पछिल्लो समय पनि महाशाखालाई ‘केरकार’ भनेरै व्याख्या गर्छन्।
सादा पोसाकमा रहेर ‘ड्युटी’ गर्नुपर्ने महाशाखामा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को कमान्डमा १५४ जनाको दरबन्दी छ। काठमाडौं उपत्यकाको शान्ति–सुरक्षा हेर्ने प्रमुख जिम्मा पाएको महाशाखा संवेदनशील ठाउँ हो। त्यसकारण पनि अपराध महाशाखा आउने प्रहरी अधिकारीका लागि सम्भावना र चुनौती दुवै हुने गरेको छ।
महाशाखाले २८ वर्षको दौरानमा ३० जनाको नेतृत्व पाएको छ। प्रहरी ‘प्राविधिक’ भाषामा महाशाखाको प्रमुखलाई ‘इन्डीया वान’ समेत भन्ने गरिन्छ। ‘इन्डीया वान’ भएर महाशाखा आउनको लागि एसएसपी सरुवाको समयमा ठूलै चलखेल हुने विषय पनि सतहमा नसुनिने होइन।
महाशाखाको नेतृत्व सम्हाल्ने जो कोही अधिकृत नेपाल प्रहरीको उच्च तहमा पुग्ने गरेका विवरणहरूले देखाउँछ। कारण– महाशाखामा रहँदा सफल कमान्डिङ गर्न सक्ने अधिकृतलाई संगठनले विश्वास गर्छ र छोटो समयमै प्रमोशनको लागि छान्ने गर्छ।
महाशाखाको पहिलो नेतृत्व १० फागुन २०५० देखि २७ वैशाख २०५१ सम्म तत्कालिन प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रबहादुर सिंहले सम्हालेका थिए। सिंह लगत्तै हिमबहादुर गुरुङ, मोहनबहादुर सिलवाल र फेरि हिमबहादुर गुरुङले नै अवसर पाए।
त्यसपछि कृष्ण बस्नेत, कल्याणकुमार तिमल्सिना, हेमबहादुर गुरुङ, भरतबहादुर जिसी, रविन्द्रप्रताप शाह, शारदाभक्त रञ्जित, रामचन्द्र खनाल, विनोद सिंह, माधवप्रसाद जोशी, केशवबहादुर शाही, दिपक रञ्जित र केशवप्रसाद अधिकारीले एसपी हुँदा महाशाखाको नेतृत्व गर्न पाए।
त्यसपछि महाशाखाको कमान्ड २२ चैत २०६३ देखि एसएसपीले सम्हाल्दै आएका छन्। पहिलो पटक महाशाखामा तत्कालिन एसएसपी उपेन्द्रकान्त अर्यालको सरुवा भएको थियो। १९ महिना लामो समयसम्म अर्यालले महाशाखाको नेतृत्व गरे।
त्यसपछि वीरेन्द्रबाबु श्रेष्ठ, रणबहादुर चन्द, हेमन्त मल्ल ठकुरी, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, पुष्कर कार्की, सर्वेन्द्र खनाल, दिनेश अमात्य, दिवेश लोहनी, धीरजप्रताप सिंह, सहकुलबहादुर थापा, दीपक थापाले महाशाखाको कमान्ड सम्हाले। पछिल्लो समय चन्द्रकुवेर खापुङले महाशाखाको नेतृत्व गरिरहेका छन्।
५–६ वर्षयता महाशाखाको प्रमुख अर्थात ‘इन्डीया वान’ भएर जाने बित्तिकै ‘इन्काउन्टर’ गर्ने प्रवृत्ति थियो। तत्कालिन महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीको पालादेखि ‘इन्काउन्टर’ले गति लियो।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट ‘रिटायर्ड’ भएका कार्की महाशाखाको प्रमुख रहेका बेला कथित ‘डन’ चरी अर्थात दिनेश अधिकारीलाई इन्काउन्टर गरेका थिए। कार्कीले नै राजधानीमा गुण्डा नाइकेहरूलाई पक्राउ गर्नुका साथै इन्काउन्टरको परम्परा बसालेको चर्चा प्रहरी संगठनभित्र छ।
महाशाखाको प्रमुख भएर गएको २० दिनपछि कार्कीले चरीको इन्काउन्टर गरेका थिए। २१ साउन २०७१ मा काठमाडौँको भिमढुंगामा भएको गोली प्रहारबाट चरीको मृत्यु भएको थियो। चरी इन्काउन्टरसँगै संगठनभित्र र बाहिर कार्कीको चर्चा बढेको थियो। १ असार २०७२ सम्म कार्कीले महाशाखाको जिम्मेवारी सम्हाले ।
कार्कीपछि सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालयले महाशाखाको जिम्मेवारी दियो। त्यसअघि नै ‘सेलिब्रेटी अफिसर’को रुपमा चिनिएका खनाल २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुख थिए।
अपराध महाशाखाको प्रमुख हुँदा ३ भदौ २०७२ मा उनले गुण्डा नाईके कुमार श्रेष्ठ ‘घैंटे’को इन्काउन्टर गरेका थिए। सामाखुसी कपुरधारामा भएको त्यस घटनालाई उछाल्न केही नेताहरु लागे पनि सामाजिक सञ्जाल र मिडियामार्फत इन्काउन्टर अनुमोदन भएपछि महाशाखाका तत्कालीन प्रमुख खनाल अझ लोकप्रिय भए।
त्यतिमात्र होइन खनालको कार्यकालमा महाशाखामा थुप्रै काम भयो। नेपाली फुटबलको ओरालो यात्रामा ‘ब्रेक’ लगाउन खनालको ठूलो योगदान रहेको छ। ‘म्याच फिक्सिङ प्रकरण’मा अनुसन्धान गरेका खनालले २७ असोज २०७२ मा तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए।
प्रहरीले लिएको भिडिओ बयानमा उनीहरुले म्याच फिक्सिङ स्वीकार गरेका थिए। स्टार खेलाडीलाई कारवाहीको दायरामा ल्याएसँगै करिब २३ बर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल समेत जितेको थियो।
त्यस्तै, नयाँ संविधान निर्माणपछि भारतीय नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी गर्ने कार्यमा सहयोग गर्ने सह–सचिव तथा नापतौल विभागका प्रमुख रामआधार शाहलाई उनले हत्कडी लगाए। त्यहिँबाट रिमोट कन्ट्रोल जडान गरेर उपत्यकामा ठगी गर्र्दै आएका पेट्रोलपम्प सञ्चालकहरुलाई खनालले कानुनी दायरीमा समेत ल्याए।
अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्वप्रहरी नायब उपरीक्षक (डिएसपी) जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए। २०६६ सालमा लाजिम्पाजमा शाहको गोली प्रहारबाट हत्या भएको थियो।
उपत्यकाको अपराध श्रृङ्खलामा ललितपुरको बडिखेलमा भएको ‘बडीखेल हत्याकाण्ड’ निकै चर्चित घटना हो। एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डकाको खनालले नै पर्दाफास गरेका थिए।
२०६० सालमा एउटै परिवारको पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालले करिब १२ बर्षपछि पक्राउ गरेका थिए।
खनालपछि महाशाखाको नेतृत्व दिनेश अमात्यको काँधमा पुग्यो। २४ माघ २०७३ देखि अमात्यले महाशाखाको कमाण्ड सम्हाले। अमात्यको कार्यकालमा पनि इन्काउन्टर भयो।
अमात्य महाशाखाको प्रमुख हुँदा २१ साउन २०७४ मा ललितपुर कुसुन्तीका ३२ वर्षीय प्रवीण खत्री प्रहरी इन्काउन्टरमा मारिए। खत्रीले गोली चलाएपछि जवाफी कारबाही गरेको प्रहरीको दावी थियो।
उक्त दिन लागुऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली खत्रीको घरमा अप्रेशनका लागि गएको थियो।
‘प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौसीबाट हाम फालेर भाग्न खोजे, दुवै हातमा पेस्तोल बोकेका उनले प्रहरीतर्फ गोली हाने’, तत्कालिन महाशाखा प्रमुख एसएसपी अमात्यले भनेका थिए, ‘प्रहरीले जवाफी गोली चलाउँदा उनको मृत्यु भयो।’
खत्रीले १० वर्षदेखि लागूऔषध सेवनका साथै कारोबार र हतियारको कारोबार गर्दै आएको प्रहरी दाबी छ। ७ भदौ २०७४ मा अमात्यको महाशाखाबाट सरुवा भयो।
त्यसपछि महाशाखा प्रमुख भएर आए तत्कालिन एसएसपी दिवेश लोहनी। लोहनीलाई नेपाल प्रहरी संगठनमा एक निडर व्यावसायीक प्रहरी अधिकृतका रुपमा लिइन्छ।
महाशाखामा आएका लोहनी आफ्नै काममा तल्लिन थिए। महाशाखा प्रमुख भएर आउने बित्तिकै इन्काउन्टर फेसन जस्तै बनिसकेको थियो। लोहनी महाशाखामा आएको थाहा पाएपछि गुण्डा नाइकेहरुको भागाभाग भएको थियो।
महाशाखामै रहँदा ३३ किलो सुन प्रकरणमा लोहनीको टोलीले अनुसन्धान गर्नुपर्ने जिम्मा आयो। अनुसन्धान गर्दै जाँदा उक्त सुन चुडामणि उप्रेती उर्फ गोरेको रहेको खुल्यो।
त्यसपछि महाशाखाको एउटा टोली गोरे खोज्न लाग्यो। जतिबेला गोरेलाई महाशाखाको टोलीले इन्काउन्टर गर्ने योजना बनाइसकेको थियो। तर, गोरेको नजिक–नजिक पुगेपछि लोहनीमाथि नसोचेको बज्रपात आइलाग्यो।
लोहनीलाई राम्रोसँग अनुसन्धान गर्न नदिई उल्टो सुन प्रकरणमा फसाइयो। प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका लोहनी संगठनमा सधैँ एक नम्बरमा थिए। त्यसपछि लोहनीको करिअरमै ठूलो असर भयो।
प्रहरी महानिरीक्षक (आईजी) बन्ने उनको सपना थियो र त्यतिबेलासम्म त्यो सम्भावना पनि कायमै थियो। काम देखाउने नाममै लोहनी ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा फसेको प्रहरी संगठनभित्र चर्चा चल्ने गर्छ।
७ भदौ २०७४ देखि महाशाखाको नेतृत्व सम्हालेका लोहनीको ८ महिनामै अर्थात २४ चैत २०७४ मा सरुवा भएको थियो। त्यसपछि उनलाई प्रहरी हेडक्वार्टरले निलम्बन गर्यो। सुन प्रकरणमा गृह मन्त्रालयले बनाएका छानबिन समितिको प्रतिवेदनको आधारमा लोहनीलाई जेल समेत पुर्यायो।
लोहनी निलम्बनमा परेपछि महाशाखामा धीरजप्रताप सिंहले नेतृत्व गरे। संगठित अपराधका जानकार रहेका सिंह पनि प्रहरीभित्र व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन्।
सिंहको कार्यकालमा पनि इन्काउन्टर भएको छ। सिंह अपराध महाशाखामा हुँदा सबैभन्दा धेरै गोली चलेको थियो। ६ जनामाथि गोली प्रहार हुँदा २ जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।
५ वैशाख २०७५ देखि २७ वैशाख २०७६ सम्म महाशाखाको जिम्मेवारी सम्हालेका सिंहको कार्यकालमा १० साउनमा काडाँघारीका बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलायो। त्यसपछि दुवैजना मारिए।
प्रहरी टोलीसँगको भिडन्तमा अपहरणकारी नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङ र सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङको इन्काउन्टरमा मृत्यु भएको हो।
सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भई हाल टाउन प्लानिङमा बालकको आमा चमेली खड्काले सञ्चालन गरेको खाजा पसलबाट अपहरणमा परेका ११ वर्षीय खड्काको अपहरणकारीले हत्या गरी गाडेको अवस्थामा प्रहरीले शव फेला परेको थियो।
बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसँगको भिडन्तमा मृत्यु भएको सिंहले बताएका थिए।
त्यतिमात्र होइन, सिंहको कार्यकालमा ललितपुरमा गुन्डागर्दी गदै आएका अशोक लामादेखि डकैतीमा संलग्न राजन लिम्बुसमेतलाई गोली हानेर नियन्त्रणमा लिन महाशाखा सफल भएको थियो।
यस्तै काठमाडौंको गोंगबुमा–८ वर्षीय प्रयास कुँवरको हत्यामा संलग्न भएको भन्दै चालक महेन्द्र सार्कीलाई घटना घटेको दुई घन्टाभित्रै पक्राउ गरेको थियो। सार्कीले कुँवरको शव म्हेपीमा फालेका थिए।
विभिन्न अन्तर्राष्ट्रिय खेलमा ‘सट्टेबाजी’ का एजेन्ट भनेर चिनिँदै आएका धनुषा जनकपुरका–४८ वर्षीय अमृत भनिने नथमल नागराज अग्रवाललाई समेत सिंहको कार्यकालमा महाशाखाले पक्राउ गर्यो।
महाशाखाले सट्टेबाजीबाट उठेको २ करोड ४० लाख नगद लिई फरार अग्रवाललाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको थियो। नेपालमा सट्टेबाजी सुरुवात उनैले गरेका थिए।
त्यसैगरी २३ असोज २०७४ मा तत्कालीन निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो। गुन्डा नाइके समीरमान सिंह बस्नेत र रमेश बाहुनको समूहले गौचनको हत्या गरेको थियो।
हत्याको मुख्य सुटर अम्बर राना र लोप्साङ लामा थिए। रोशन बुुढाथोकीले व्यवस्थानको जिम्मा निभाएका थिए। सिंहको कार्यकालमा महाशाखाको टोलीले १२ कात्तिकमा झापाको काँकडभित्ताबाट तिनै जनालाई पक्राउ गर्यो। त्यतिखेर उनीहरु एक वरिष्ठ पत्रकारको हत्या गर्ने याजना बनाउँदै थिए।
महाशाखाबाट सिंहको सरुवा भएपछि तत्कालिन एसएसपी सहकुल थापाले कमाण्ड सम्हाल्ने अवसर पाए। २७ वैशाख २०७६ देखि १० वैशाख २०७७ सम्म थापा महाशाखाको नेतृत्वमा रहे।
थापा महाशाखाको नेतृत्वमा रहँदा पनि थुप्रै कामहरु भएका छन्। यद्यपी इन्काउन्टर नै चाहिँ भएको छैन। थापाको कार्यकालमा लकडाउन भयो। कालोबजारीहरु मौलाए।
आफ्नो कार्यकालमा थापाले लकडाउनका बेला थर्मल गनको कालोबजारी गर्ने सुलभ अग्रवाललाई पक्राउ गर्न सफल भए। त्यस्तै कृषि विकास बैंकको सिस्टममा पहुँच राखी रकम रकमान्तर गरी बैंकलाई हानी नोक्सानी गर्ने व्यक्तिहरु विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भए।
यस्तै सार्वजनिक सवारी साधनमा आफ्नो लिंग निकाली हस्तमैथुन समेत गरी महिलाको कपाल तथा शरीरमा विर्य स्खलन गराई अश्लिल भिडियो बनाउने व्यक्तिलाई पनि थापाकै कार्यकालमा महाशाखाको टोलीले पक्राउ गर्यो।
निर्माण सामाग्री ढुवानी गर्ने साधनको ढालामा वास्तविक सतहभन्दा माथि उठाई थोरै सामाग्री दिई ठगी गर्ने सप्लायर्स तथा एनसीएल कार्यालय अगाडि बम बिष्फोटन गराउनेलगायतहरूलाई पक्राउ गर्न सफल थापा क्षमतावान प्रहरी अधिकारीका रुपमा चिनिन्छन्।
पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्न व्यक्ति समेत थापाकै कार्यकालमा पक्राउ पक्राउ परे। ३ भदौ २०७५ मा रातीको मसयमा थापाथली कुरियागाउँ बस्ने झाको कर्तव्य गरी हत्या भएको थियो।
एक वर्षसम्म हत्यामा संलग्न पक्राउ नपरेपछि प्रहरीको चौतर्फी आलोचना भएको थियो। त्यसपछि तत्कालिन महाशाखा प्रमुख थापा आफैं अनुसन्धानमा खटिए।
अनि काभे्रपलाञ्चोक पनौती नगरपालिका–१० खोपासी बस्ने बर्ष ५२ को सानुकान्छा तामाङको संलग्नता रहेको खुल्न आएपछि काभ्रे प्रहरीको समन्वयमा ३१ साउन २०७६ मा तामाङलाई महाशाखाले पक्राउ गरेको थियो। समग्रमा थापाको कार्यकाल पनि सफल भयो।
सहकुल थापाको महाशाखाबाट सरुवा भएपछि एसएसपी दीपक थापा आए। १२ वैशाख २०७७ मा महाशाखा आएका थापाको ३ फागुनमा सरुवा भयो। थापाको कार्यकालमा पनि थुप्रै कामहरु भएको छ।
गत २५ साउनमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर टाउको र शरीर अलग–अलग ठाउँमा फालियो। सो हत्यालाई ‘गोंगबु हत्याकाण्ड’को नामले चिनिन्छ। प्रहरीले हत्यारा पत्ता लगाउन गरेको अपरेसनको नाम राख्यो, ‘अपरेसन जोजो।’
‘अनुसन्धानमा जोजो नामको कुकुर परिचालन गरिएको हुनाले ‘अपरेसन जोजो’ नामकरण गरिएको हो,’ अपराध महाशाखाका तत्कालीन एसएसपी थापा बताउँछन्।
गोंगबुमा डेरा गरेर बस्ने कल्पना पौडेल मुडभरीले कृष्णबहादुरको हत्या गरेपछि सुटकेसमा प्याक गरेर शव फालेकी थिइन्। मृतकको टाउको र शरीर फरक स्थानमा भेटिएपछि अपराध महाशाखा र काठमाडौँ प्रहरीले उच्च प्राथमिकताका साथ सो हत्या अनुसन्धान गरेका थिए।
शव पहिचान गर्न नै हम्मेहम्मे परेका अनुसन्धान अधिकृतहरुले पहिचान भएपछि आरोपीलाई चितवनबाट पक्राउ गरेर ल्याए। एसएसपी थापाको कार्यकालमा भएको सबैभन्दा ठूलो काम मध्य यो पनि एउटा हो।
त्यस्तै थापाको कार्यकालमा आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा महाशाखाले सुवास सुब्बा लिम्बूलाई पक्राउ गर्न सफल भयो।
विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई महाशाखाले पक्राउ गरेको थियो।
लिम्बूले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउँदै आएका थिए। साथै उनले केही च्यानलमा आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका थिए। उनले आफू आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न व्यक्तिलाई करोडौं रुकम ठगी गरेको उजुरी समेत प्रहरीमा परेको छ।
त्यस्तै २१ असोजमा जग्गा खोज्ने निहुँमा भक्तपुरको चाँगुनारायण–८ सुडाल बस्ने चन्द्रबहादुर योञ्जनलाई तीन जना मिलेर हत्या गरे। जग्गा खोज्न गएका सिन्धुपाल्चोकका कामी शेर्पा, रमेश तामाङ र प्रेम तामाङले कुटपिट गरेर लुटेपछि योञ्जनलाई छाडेर भागे। अस्पतालमा योञ्जनको मृत्यु भयो।
सो घटना पत्ता लगाउन महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृतहरुले कठिन मेहनत गरे। रामेछापको सुनापती गाउँपालिका–१ का चन्द्रबहादुरले सुडालमा पनि घर बनाएका थिए। किराना पसल थियो।
पसलमा बियर खाएर साँझपख उनीहरुले चन्द्रबहादुरलाई जग्गा हेर्ने प्रस्ताव राखेर लुटे। महाशाखाले लुटेराले प्रयोग गरेको हेलमेटमा अंकित अंग्रेजी अक्षर ‘आरओएक्स’लाई केन्द्रमा राखेर अनुसन्धान गरेर सो घटना पत्ता लगाए।
चद्रबहादुरको पसलको सीसीटीभी फुटेलमा ‘आरओएक्स’ लेखिएका हेलमेट देखिएपछि सो क्लूलाई फ्लो गरेर महाशाखाले अनुसन्धान पूरा गरेको थियो। यसरी केही क्लू भेट्ने बित्तिकै अपरेशनको नाम नै राखेर थापाले अनुसन्धान गर्थे।
थापाको कार्यकालमा पनि इन्काउन्टर भएन। प्रहरीमा थापालाई भावी आईजीको रुपमा हेरिएको छ। प्रहरी संगठनमा इमान्दार, मिजासिला र कामप्रति बफादार रहेका थापा अनुसन्धानमा समेत अब्बल अधिकृत हुन्।
पछिल्लो समय महाशाखाको जिम्मेवारी एसएसपी चन्द्रकुबेर खापुङले काँधमा छ। महाशाखाको ३ फागुनदेखि कमाण्ड सम्हालेका खापुङको काम हेर्न बाँकी नै छ। यद्यपी सानातिना कामहरु भने भइरहेको नै छ।

