‘टाइगर’ मैदानमा : १८ वर्षको अनुभवसहित ठमेल पर्यटन विकास परिषद्को द्वितीय उपाध्यक्षका लागि प्रकाश श्रेष्ठको उम्मेदवारी


काठमाडौं – ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट प्रकाश श्रेष्ठ द्वितीय उपाध्यक्ष (Second Vice President) पदका उम्मेदवार बनेका छन्। करिब १८ वर्षदेखि पर्यटन तथा आतिथ्य व्यवसायमा सक्रिय श्रेष्ठले आफ्नो अनुभवलाई परिषद्को संस्थागत विकास, व्यवसायीको हकहित संरक्षण तथा ठमेलको पर्यटन प्रवर्द्धनमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्।

पर्यटन व्यवसायका अवसर, चुनौती र बदलिँदो बजारको मागलाई नजिकबाट बुझेका श्रेष्ठले ठमेललाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा अझ प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न परिषद्ले दीर्घकालीन योजना र प्रभावकारी नेतृत्वका साथ अघि बढ्नुपर्ने बताएका छन्।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘१८ वर्षको व्यवसायिक यात्रामा मैले पर्यटन क्षेत्रका वास्तविक समस्या, सम्भावना र व्यवसायीका अपेक्षालाई नजिकबाट अनुभव गरेको छु। अब त्यो अनुभवलाई परिषद्मार्फत संस्थागत विकास, पर्यटन प्रवर्द्धन र व्यवसायीको हितमा उपयोग गर्न चाहन्छु। परिषद्लाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाका रूपमा विकास गर्न मेरो भूमिका सक्रिय रहनेछ।’

श्रेष्ठका अनुसार व्यवसायीबीचको एकता, निजी क्षेत्रसँगको सहकार्य, नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहन, पारदर्शी कार्यशैली र सुशासन परिषद्को प्राथमिक एजेन्डा बन्नुपर्छ। परिषद्का हरेक निर्णयमा व्यवसायीको सुझाव र सहभागितालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

उनले सरकारी निकाय, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाबीच प्रभावकारी समन्वय गर्दै ठमेलको अन्तर्राष्ट्रिय छविलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

श्रेष्ठले अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानल अनुभवी, सक्षम र व्यवसायप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै यस टोलीले परिषद्लाई नयाँ सोच, स्पष्ट कार्ययोजना र परिणाममुखी नेतृत्व दिन सक्ने विश्वास व्यक्त गरे।

आगामी असार २७ गते हुने निर्वाचनमा व्यवसायीको हित, पर्यटन प्रवर्द्धन र परिषद्को संस्थागत विकासलाई केन्द्रमा राख्ने नेतृत्वलाई विजयी गराउन सम्पूर्ण सदस्य व्यवसायीसँग आग्रह गर्दै श्रेष्ठले द्वितीय उपाध्यक्ष पदमा आफ्नो पक्षमा अमूल्य मत प्रदान गर्न अपिल गरेका छन्।

प्रतिक्रिया