
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार रुपैयाँ शुल्क हटाउन बालेनको निर्देशन
काठमाडौं – जेन–जी आन्दोलनपछि यूएई जाने नेपाली श्रमिकमाथि थपिएको करिब १४ हजार रुपैयाँ आर्थिक भार हटाउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले निर्देशन दिएका छन्।
सोमबार राजनीतिक सल्लाहकार असिम शाहमार्फत प्रधानमन्त्री बालेनले परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका सचिवहरूसहितको टोलीसँग छलफल गर्दै श्रमिकमाथि थपिएको आर्थिक भार तत्काल हटाउन कूटनीतिक पहल गर्न निर्देशन दिएका हुन्।
छलफलमा श्रम मन्त्रालयका सचिव दीपक काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव अमृत राई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरण शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव पुष्प भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढकाल, वैदेशिक रोजगार विभागका महानिर्देशक सहसचिव मिरा आचार्य, प्रधानमन्त्री कार्यालयका उपसचिव प्रदीप श्रेष्ठ र श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी सहभागी थिए।
छलफलमा सहभागी एक सहसचिवका अनुसार प्रधानमन्त्री कार्यालयमा करिब एक घण्टा चलेको बैठकमा राजनीतिक सल्लाहकार असिम शाहले यूएई जाने श्रमिकमाथि थपिएको आर्थिक भार हटाउन सम्बन्धित मन्त्रालयका सहसचिवहरूलाई आवश्यक कूटनीतिक पहल गर्न निर्देशन दिएका थिए।
जेन–जी आन्दोलनपछि नेपालमा जेलबाट कैदीबन्दी भागेको र डाटा प्रणालीमा समस्या आएको भन्दै यूएईले नेपाली प्रहरीको रिपोर्ट दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ। यसका कारण श्रमिकले थप करिब ३५३.२७ यूएई दिराम (झण्डै १४ हजार रुपैयाँ) तिर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यूएई र नेपालबीच शून्य लागतमा श्रमिक पठाउने श्रम समझदारी भए पनि नयाँ व्यवस्थाका कारण श्रमिकमाथि अतिरिक्त आर्थिक भार परेको भन्दै सरकारले यसलाई हटाउन पहल गर्ने जनाएको छ।
यूएईले केही समयअघि भिजिट भिसा र श्रम भिसामा रोक लगाए पनि पछि खुला गरेको थियो। तर प्रहरी रिपोर्ट अनिवार्य प्रमाणीकरण गर्ने व्यवस्था यथावत् राखिएको छ।
प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि ठमेलस्थित भीएफएस (भिसा फ्यासिलिटेसन सर्भिस) मार्फत दूतावासमा पठाउनुपर्ने भएकाले अतिरिक्त खर्च र झन्झट बढेको श्रमिक संगठनहरूको गुनासो छ।
यसअघि सन् २०१८ मा पनि यूएईले यस्तै प्रकारको प्रमाणीकरण प्रक्रिया एजेन्टमार्फत सञ्चालन गर्ने प्रयास गरेको थियो। तर त्यसले श्रमिकमाथि अतिरिक्त आर्थिक भार बढाउने भन्दै विरोध भएपछि व्यवस्था फिर्ता गरिएको थियो।



कागजपत्र |
