विद्यालय पोशाकमा एकाधिकारको विरोध गर्दै व्यवसायीको प्रदर्शन


काठमाडौं – विद्यालय पोशाक खरिद प्रक्रियामा खुला बजार प्रणाली लागू गर्न माग गर्दै नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, नगर कार्यसमिति तुलसीपुरले प्रदर्शन गरेको छ।

व्यवसायीहरूले “विद्यालयले गर्दै आएको पोशाक व्यापार बन्द गर”, “विद्यालय शिक्षाको मन्दिर हो, व्यापार गर्ने थलो होइन” लगायतका नारासहित शान्तिपूर्ण र्‍याली गरेका हुन्।

प्रदर्शनमा सहभागी व्यवसायीहरूले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालय तथा क्याम्पसहरूले पोशाक खरिदमा एकाधिकार कायम गरेको आरोप लगाएका छन्। उनीहरूले विद्यालय पोशाकमा लगाइएको नियन्त्रण हटाई खुला बजार व्यवस्था लागू गर्न माग गरेका छन्। “जबरजस्ती खरिद बन्द गर”, “खुला बजार कायम गर” लगायतका प्लेकार्डसहित व्यवसायीहरूले प्रदर्शन गरेका थिए।

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघका जिल्ला कोषाध्यक्ष सुरेन्द्र परियारले शिक्षाको नाममा विभिन्न व्यापारिक गतिविधि बढ्दै गएको र त्यसको प्रत्यक्ष असर व्यवसायी तथा उपभोक्तामाथि परेको कारण विरोध कार्यक्रम गरिएको बताए।

व्यवसायीहरूको दाबी अनुसार विद्यालयहरूले तोकेको निश्चित पसलबाट मात्र पोशाक खरिद गर्नुपर्ने बाध्यताले विद्यार्थी तथा अभिभावक दुवै प्रभावित भएका छन्। उनीहरूले आफूले चाहेको स्थान वा आफ्नै पसलमा सिलाइएको पोशाक प्रयोग गर्न नपाउने अवस्था रहेको बताएका छन्।

यस विषयमा संघका नगर अध्यक्ष गोपाल नेपालीसहितको टोलीले सोमबार तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्कालाई ज्ञापनपत्र बुझाएको थियो। संघले गत वर्ष पनि यही विषयमा ध्यानाकर्षण गराएको भए पनि कुनै ठोस पहल नभएको जनाएको छ।

विद्यालय पोशाक खरिद प्रक्रियामा पारदर्शिता, प्रतिस्पर्धा र उपभोक्ताको छनोट अधिकार सुनिश्चित गर्न माग गर्दै संघले स्थानीय सरकारको ध्यानाकर्षण पुनः गराएको छ।

प्रतिक्रिया