वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्कै व्यक्तिकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर झुटा विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो।

अख्तियारले मेयर सिंहलाई मतियारको भूमिकामा रहेको भन्दै मुख्य कसुरदारसरह सजायको माग गरेको छ। यस प्रकरणमा नागरिकता प्राप्त गर्ने रुविना श्रेष्ठकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।

त्यसैगरी, गलत छानबिन प्रतिवेदन तयार पारेको आरोपमा गृह मन्त्रालयका कर्मचारी पुस्कर राना र परशुराम पोखरेलविरुद्ध समेत मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार मेयर सिंहले सिन्धुपाल्चोककी रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरीका रूपमा प्रस्तुत गर्दै वीरगञ्ज महानगरपालिका–३ बाट जन्मदर्ता गराउन सूचकको भूमिका निर्वाह गरेका थिए। सोही जन्मदर्ताका आधारमा रुविनाले २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी थिइन्।

अनुसन्धानका क्रममा सरकारी अभिलेख तथा कागजातमा अनधिकृत रूपमा सच्याउने, केरमेट गर्ने र प्रमाण लुकाउनेजस्ता कार्य भएको भेटिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत वास्तविक तथ्य लुकाएर दोषीलाई जोगाउने उद्देश्यले प्रतिवेदन तयार पारेको थियो। समितिका तत्कालीन संयोजक उपसचिव पुस्कर राना र सदस्य शाखा अधिकृत परशुराम पोखरेलले प्रमाण नष्ट भएको दाबी गर्दै वास्तविक तथ्यलाई ओझेलमा पार्ने प्रतिवेदन पेश गरेको आरोप लगाइएको छ।

अख्तियारले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया