
सरकारका सय कार्यसूची कार्यान्वयनमा केन्द्रित छौँ : मन्त्री मेहता
काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले तय गरेका शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई केन्द्रमा राखेर काम गरिरहेको बताएकी छन्।
आइतबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रधानमन्त्रीको निर्देशनअनुसार सरकारका प्राथमिकतामा रहेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय सक्रिय रहेको जानकारी दिइन्।
उनले स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने धेरै पक्ष अझै बाँकी रहेको उल्लेख गर्दै ती विषयलाई योजनाबद्ध रूपमा अघि बढाइने बताइन्। मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य सेवामा देखिएका चुनौतीहरूको समाधानतर्फ आफूहरू केन्द्रित रहेको उनको भनाइ थियो।
मन्त्री मेहताले आगामी दिनमा स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्दै नागरिकले गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले अस्पताल सुधार, औषधि व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न नीतिगत सुधारका कामहरू अघि बढाइएको जानकारी दिए।
उनका अनुसार स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत संरचना निर्माणलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको छ। साथै आगामी आर्थिक वर्षदेखि सुधारका कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी ढंगले कार्यान्वयन गरिने उनले बताए।



कागजपत्र |
