
छानबिन समितिलाई गुरुङको ठट्यौली प्रश्न: ‘तपाईंहरूको सम्पत्ति पनि जाँचौँ न’
गोरखा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले नै मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा बसेर काम गर्दा उठ्ने सबै प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए। त्यसकै आधारमा छानबिन समितिसमक्ष उपस्थित भएर बयान दिएको उनको भनाइ थियो।
गुरुङले छानबिनका क्रममा आफूलाई सम्पत्तिको स्रोतबारे कडा प्रश्नहरू सोधिएको उल्लेख गर्दै ती सबै प्रश्नको स्पष्ट र तथ्यपरक जवाफ दिएको बताए। उनले भने, “सार्वजनिक जिम्मेवारीमा बसेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भन्ने मान्यताका साथ मैले समितिसमक्ष बयान दिएको हुँ। सोधिएका सबै प्रश्नको सहज र स्पष्ट जवाफ दिएको छु।”
सम्बोधनका क्रममा उनले छानबिनसँग जोडिएको एउटा रोचक प्रसंग पनि सुनाए। उनका अनुसार समितिले ‘यति धेरै सम्पत्ति कहाँबाट आयो?’ भनेर प्रश्न गरेपछि आफूले पनि ठट्यौली शैलीमा ‘तपाईंहरूको सम्पत्ति पनि छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरेको बताए।
उनले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफू निर्दोष सावित हुनेमा विश्वस्त रहेको बताए। साथै प्रतिवेदनबाट सफाइ पाएर सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावनाप्रति पनि संकेत गरे।
यस क्रममा उनले पुनः गृहमन्त्री बनेको खण्डमा कार्यकर्ताहरूलाई विशेष आग्रह समेत गरे। “यदि सरकारले फेरि गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि कम्तीमा पहिलो दुई महिना नआइदिनुहोला,” उनले भने, “त्यो समय कामलाई प्राथमिकता दिन चाहन्छु।”
सांसद गुरुङले पार्टीको संगठन सुदृढीकरण र नेतृत्वको भूमिकाबारे पनि धारणा राखे। अब चयन हुने जिल्ला सभापति राजधानी केन्द्रित नभई जिल्लामै बसेर संगठन विस्तार र जनतासँग निरन्तर सम्पर्कमा रहनुपर्ने उनको भनाइ थियो।
“राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्रै जनतामाझ पुग्ने अवस्था आउँछ,” उनले भने, “त्यसले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा गर्दैन।”
कार्यक्रममा उनले आफू गृहमन्त्री रहँदा प्राप्त जनसमर्थन र सहयोगको स्मरण गर्दै गोरखावासी तथा आफूलाई निर्वाचित गराउने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका थिए।



कागजपत्र |
