जामाचो हाइकिङमा खट्किएका दुई कुराः
‘डस्टबिन’ र शौचालय


राजधानी छिरेको दशकौं सम्म पनि उपत्यकाको कुनै एक डाँडालाई पाइलाले नाप्ने चाहना भए पनि साइत जुराउन भने वर्षौं लाग्यो । पेशै यस्तो रोजियो कि आफ्नो रहर पुर्याउन भन्दा पनि अर्कालाई खबर पुर्याउन मन पर्ने । तर हिजो शनिबार भने आफ्नै रहर प्राथमिकतामा पर्यो ।

बैरागिइरहेको मनमा केही शान्ति खोज्न कुमारजी र रिसभको साथ पाइयो । बिहान ८ बजे बानेश्वरबाट कुमारजीको बाइकमा सुरु भएको डाँडा नाप्ने पहिलो लक्ष्यमा पर्यो जामाचो अर्थात् नागार्जुन डाँडा ।

माछापोखरीदेखि ११ सय मिटर अर्थात् १.१ किलोमिटर अगाडि पुग्दा सेनाले सुरक्षा दिइरहेको गेटमा सेनामा भर्ना हुन फर्म खुले जस्तै गरी युवा–युवतीहरु लाइन बसिरहेका रहेछन् । हामी पनि त्यही लाइनमा थपिनुपर्ने हाम्रो लक्ष्यले बाध्यता देखाएको थियो । त्यतै सडककै छेउमा बाइक पार्किङ गरियो । कोलाहल सहरको बीचमा जता पनि ट्राफिक प्रहरीको ‘सिठ्ठी’ सुन्ने बानी परेको कानलाई सडकमै बाइक राख्न मन फिटिक्कै थिएन, तर बाध्यता ‘अरुका गए हाम्रा पनि जालान्’ भन्दै साइड लगाइयो ।

नेपाली सेनाले पहरा दिइरहेको गेटको छेवैमा तीनवटा लाइन रहेछन्, एउटा टिकट काट्ने, दुईवटा नाम दर्ता गराउने र झोला चेक गर्ने ।

हामी तीनमध्ये रिसभ भाई टिकट काट्ने लाइनमा बसे भने म चाहिँ उनले टिकट ल्याएपछि देखाउने लाइनमा बसेँ । अनि कुमार सर भने हामी दुवैको लाइनमा मध्यस्थता र त्यता वरिपरिको नियम बुझ्न  तिर लाग्नुभयो । नेपालीका लागि टिकट प्रतिव्यक्ति १ सय लाग्दो रहेछ भने सार्क राष्ट्रबाहेकका विदेशीका लागि एक हजार रुपैयाँ । हुन त बाइक मै पनि जामाचो जान सकिने रहेछ, मोटरसाइकलको प्रवेश शुल्क १५० रुपैयाँ रहेछ भने चारपांग्रे सानो गाडीको ३ सय । ती हाम्रा लागि आज प्राथमिकतामा परेका थिएनन् । किनकी हामी पाइलाले नै काठमाडौंको एउटा डाँडा नाप्ने अभियानमा थियौं । ९ नबज्दै आइपुगेका हामीले टिकट काटेर, झोला चेक गरेर भित्र पस्दा १० बजेर १० मिनेट गइसकेको थियो ।

कोलाहल सहरको बीचमा जता पनि ट्राफिक प्रहरीको ‘सिठ्ठी’ सुन्ने बानी परेको कानलाई सडकमै बाइक राख्न मन फिटिक्कै थिएन, तर बाध्यता ‘अरुका गए हाम्रा पनि जालान्’ भन्दै साइड लगाइयो ।

घरबाट बिहानै निस्किएकोले पेट भने खालीनै थियो, तर हामीले बोकेको झोलामा भने ३ जनाका लागि पुनः यहीँसम्म आइपुग्न सक्नेजति खाना थियो । हामीले आज चाहिँ ‘जंक’ खानालाई बहिष्कार नै गर्यौं भनौं– खरबुजा, मेवा, स्याउ र बोतलको पानी । त्यसबाहेक आलु चिप्स र स्निकर्स थियो, त्यसलाई ‘जंक’ भन्न मन लाग्छ भने हजुरहरुले भन्दा हुन्छ ।

लागियो उकालो, पहिलो गासमै ढुंगा भनेझैं सुरुको झण्डै १ किलोमिटर भर्याङ चढेजस्तै उकालो रहेछ । भर्खरै गेटमा नाम टिपाएर हिँडेका हामीलाई करिब १ किलोमिटर माथि नेपाली सेनाले पुनः नाम र टिकट माग्नुभयो, देखाइयो, अनि टिपाइयो पनि ।

हामीले बोकेको साढे २ किलोको खरबुजाले हामीलाई अगाडि हिँडाउनभन्दा पनि पछाडि ताने जस्तो लाग्दै थियो, त्यसैले पहिलो ‘आहारा’ त्यसलाई बनाउँदै झोला हलुंगो बनाउन लागियो, बाटोकै साइडमा सल्लाको पातमा बसेर । तर, खर्बुजा लिएर जानेहरुले एउटा कुरा भने विचार गर्नु है, तपाईंले खबुर्जा काट्न भनेर घरबाट लिएर गएको चक्कु तलको गेटबाटै भित्र लैजान नपाइने रहेछ । तर, हामी बाठो भनौं कि भाई रिसभको अनुभव, हामीले माछापोखरी चोकको पसलमै खर्बुजालाई ‘चिरा’ पारिसकेका थियौं । अनि एकजनाले बोकेको झोलाको वजन तीनजनाले पेटमा सारेपछि हामीलाई हिँड्न केही सजिलो भयो ।

उकालो लाग्दै गर्दा देखिएको लाइन हेर्दा माथि डाँडामा केही ठूलै कुरा छ जस्तो लाग्थ्यो । ‘चालिसे’भन्दा पनि भर्खरै ‘टिनेज’ कटेकाहरु धेरै देखिए उकालो पाइला सार्नेहरु । बाटो काट्नका लागि अरु टिमहरुसँग बोल्दा अझै केही उर्जा पाएझैं मनलाई लाग्यो । भरसक मुख बन्द गरेर नाकबाट श्वास लिन सकियो भने खुट्टोले उकालोको खुड्किलो सजिलो मान्दोरहेछ ।

बाटो जम्मा साढे ४ किलोमिटर भनेर लेखेको सेनाको जानकारी पाटीमा रहेछ, त्यसैले करिब आधाउधी पुगेपछि एउटा चौर जस्तो रहेछ, त्यहीँ पनि यसो बिश्राम गर्न सानो ठाउँ रहेछ, तर बाटैभरि लाइनै लागेर हिँडेकाहरु सबैले भने बस्ने ठाउँ पाउने कुरै भएन । हामी पनि त्यहीमध्ये परियो, अलि पर बाटोमा साइड लागियो, फेरि उही झरेको सल्लाको पातमाथि ।

त्यहाँनेर चाहिँ पेटले भन्दा पनि मुखले पानी माग्यो । सरसरी चलेको चिसो हावा नै अघाउन्जेल खाउँ जस्तो लाग्ने । धेरैपछि पसिनाले लुगा भिजे, खुट्टाले डाँडा चढ्यो अनि आँतले चिसो हावा खायो । २१२८ मिटरको उचाई रहेको डाँडैमा पुगियो, झण्डै १ बजे । जामाचोको डाँडामा बुद्ध धर्मावलम्बीहरुको जामाचो गुम्बा रहेछ, जुन बौद्ध धर्मावलम्बीहरुका लागि ज्यादै महत्वपूर्ण गुम्बा रहेछ ।

खानेकुरा बोक्नुपर्ने तर बाटोमा डस्टबिन नहुँदा भने फोहोर पनि बोकेरै हिँड्नु पर्ने अर्को बाध्यता । सेनाको नियम, उठबस गराइपो हाल्छ कि भन्ने डरले नै भए पनि एक/दुई ‘बहादुर’ बाहेक सबैले बोकेरै हिँडेका देखिए । कहिलेकाहिँ तलको गेटमा सेनाले ‘तपाईंले लगेको फोहोर खै त ?’ भनेर सोध्ने गरेको भन्ने सुनियो । त्यसको उत्तर दिन पनि फोहोर आफैंले बोक्ने हो रहेछ । अनि उकालो हिँडिरहेकाहरुले पानी खाएपछि ‘फाल्ने’ ठाउँ नहुँदा अल्लि नै नराम्रो लाग्दो रहेछ । कुनै एक महिनाको टिकटको शुल्कले बिच्च भागतिर ‘सर्ट’ कै लागि भए पनि एउटा ‘हल्का हुने ठाउँ’ बनाइदिने हो भने बटुवाहरुले थप राहत पाउँथे ।

त्यसबाहेक एउटा भ्यूटावर र नाकै थुन्न पर्ने शौचालयका साथै चटपट–सटपट र हल्का खाजा पाइने २/४ वटा स्टलबाहेक खास्सै केही रहेनछ । तर, पुग्ने क्रममै रहेका केही भञ्ज्याङका चिसो हावा, हिँडेर पसिना बगाउँछु अनि सबै राजधानीलाई पश्चिम दृष्टिबाट हेर्ने चाह भएकाहरुलाई भने अच्छा ठाउँ । ए ! साँचि डाँडामा बस्नका लागि ‘पिफर्म म्याट’का टुक्राहरु भने निःशुल्क नै पाइने रहेछन् । आफू बसेपछि पुनः कुनै पसलमै दिने गरिने रहेछ, हामीले पनि त्यस्तै गरियो । आफूले बोकेर जान नपर्ने तर बोक्नेहरुले ‘बेडकभर’ बोकेर लैजाँदा रहेछन्, डाँडैमा पुगेपछि देखियो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने जामाचोको टुप्पोबाट उत्तरतर्फ लाङटाङ र गणेश हिमाललगायतका हिमशृंखला देखिन्छन् भने अन्यतर्फ काठमाडौं उपत्यका पुरै देख्न सकिँदो रहेछ ।

माथि पुगियो, झोलामा रहेको मेवालाई पुनः बाँड्ने काम गरियो । त्यो आलुचिप्स र पानी पनि घटाइयो । करिब १ घण्टा बसेर फेरि भर्याङ ओर्लिन थालियो । आउँदा पनि उही बाटो । एकपाइलो उकालो चढ्दा माथि पुगे झैं लाग्ने, तर झर्दा चाहिँ एकैपटक तलै पो पुगिन्छ कि जस्तो हुने । हिँड्न भन्दा पनि अडिन गाह्रो । आफू फर्किरहँदा तलबाट गइरहेकाहरु भेट्दा चाहिँ खुशी लाग्ने । मान्छेको पापी मन, अझै यिनीहरु माथि पुग्न यति धेरै हिँड्नै छन्, हामी त फर्किसक्यौं भने जस्तो लाग्ने ।

तलको गेटबाट छिरिसकेपछि टुप्पोमा नपुगुन्जेल केही किन्नै पाइँदैन, त्यसैले खानेकुरा बोकेर नजाने हो भने गाह्रै रहेछ । खानेकुरा बोक्नुपर्ने तर बाटोमा डस्टबिन नहुँदा भने फोहोर पनि बोकेरै हिँड्नु पर्ने अर्को बाध्यता । सेनाको नियम, उठबस गराइपो हाल्छ कि भन्ने डरले नै भए पनि एक/दुई ‘बहादुर’ बाहेक सबैले बोकेरै हिँडेका देखिए । कहिलेकाहिँ तलको गेटमा सेनाले ‘तपाईंले लगेको फोहोर खै त ?’ भनेर सोध्ने गरेको भन्ने सुनियो । त्यसको उत्तर दिन पनि फोहोर आफैंले बोक्ने हो रहेछ । अनि उकालो हिँडिरहेकाहरुले पानी खाएपछि ‘फाल्ने’ ठाउँ नहुँदा अल्लि नै नराम्रो लाग्दो रहेछ ।

कुनै एक महिनाको टिकटको शुल्कले बिच्च भागतिर ‘सर्ट’ कै लागि भए पनि एउटा ‘हल्का हुने ठाउँ’ बनाइदिने हो भने बटुवाहरुले थप राहत पाउँथे । हुन त निकुञ्ज क्षेत्रभित्र यी र यस्ता कुराको व्यवस्था गर्न बन्देज नै छ, तर पनि बटुवाहरुका लागि टिकटकै व्यवस्था गरेर हिँड्ने खुट्किलाहरु बनाउँदै गर्दा यत्तिसम्म व्यवस्था गरिँदा ‘आकाशै खस्दैन कि’ भन्ने मात्र हो ।

फर्केर तल गेटमा नाम टिपाउने छेउतिर एउटा सुझाव पेटिका राखिदिने हो भने यस्तै सुझावले भरिन्थ्यो होला त्यो पेटिका । तर, पेटिका पनि छैन, बिच बाटोमा हल्का हुने ठाउँ पनि छैन अनि भन्ने आँट त झन् कसैको देखिएन सेनाको अगाडि । हुन त गेटमा बसेका सेनिकलाई भनेर कार्यान्वयन हुने त होइन होला पक्कै पनि । ‘माथि’ सम्म पुर्याउनका लागि वर्षौंमा एकपटक जामाचो जाने साइत जुरेकाहरुलाई फुर्सद हुने कुरै भएन, अनि सेना एवं निर्णायक तहका मानिसहरुलाई जामाचो हिँडेर जानै पर्दैन । तर, जे भए पनि सय रुपैयाँमै आफ्नो स्वास्थ्य परिक्षण गर्ने इच्छा छ भने जामाचो जाँदा चाहिँ हुन्छ । सेनाको गेटबाट काटेको टिकट टुप्पैमा पुर्याएर फेरि सेनाको गेटैसम्म सहि सलामत ५ बजेभित्रै ल्याउन सकियो भने तपाईं स्वस्थ्य !

आफू स्वस्थ भएको ‘रिपोर्ट’ भने भोलिपल्ट बिहान आउँदो रहेछ, खुट्टा ‘कैंडा’ लागेजस्तै यता उता सर्न नमान्ने, जिउ पुरै दुख्ने जस्ता भए भने अर्को साता पनि कुनै डाँडा चढ्नु भन्ने संकेत हो कि झैं लाग्यो । त्यसैले बेलैमा विचार गरौं, सधैं उपत्यकाकै खाल्डोमै बसेर जीवन जिउन संघर्ष गरिरहेका हामीहरु त्यही उपत्यकालाई माथिबाट हेर्दा कस्तो देखिँदो रहेछ भन्ने कुरा जान्न मन छ भने जामाचोका सिंढी चढ्नैपर्छ ।

प्रतिक्रिया