दुर्गा प्रसाईंको नागरिक बचाउ अभियान र धवलशमशेरको समूहबीच एकता


काठमाडौं – राष्ट्रवादी, राजावादी तथा देशभक्त शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने उद्देश्यसहित दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियान र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान महामन्त्री धवलशमशेर राणा निकट समूहबीच एकता भएको छ।

दुवै पक्षले संयुक्त रूपमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्दै राष्ट्रवाद, सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना तथा पृथ्वीनारायण शाहको दिव्योपदेशमा आधारित राजनीतिक दर्शनलाई अघि बढाउने बताएका छन्। साथै, परम्परागत राजनीतिक शक्तिहरूको विकल्पका रूपमा उदाउने र राष्ट्रवादको मुद्दामा नयाँ धार सिर्जना गर्ने लक्ष्य लिइएको जनाइएको छ।

एकतापछि गठन हुने नयाँ दलले दोहोरो नागरिकताको व्यवस्था गर्दै “एकपटकको नेपाली सधैंको नेपाली” हुने अवधारणालाई पनि आफ्नो एजेन्डामा समेट्ने जनाएको छ।

दुवै समूहबीच एकता सम्बन्धी सहमति र हस्ताक्षर भइसके पनि नवगठित पार्टीको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया