
सार्वजनिक पदधारी सबैको सम्पत्ति छानबिन हुनुपर्छ : गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन अनिवार्य हुनुपर्ने बताएका छन्।
‘ग्रीन टेबल’ विशेष शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिनको प्रक्रियामा सबै राजनीतिक दल र नेतृत्व समान रूपमा सहभागी हुनुपर्ने धारणा राखे।
थापाले नेपालमा संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता शक्तिशाली संवैधानिक निकायको व्यवस्था गरेको उल्लेख गर्दै सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिनको विषय सधैं राजनीतिक बहसको केन्द्रमा रहने गरेको बताए।
उनले कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमै सम्पत्ति छानबिन गर्ने सशक्त आयोग गठन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै हाल सरकारले गठन गरेको आयोगप्रति पनि सहयोग रहने स्पष्ट पारे।
उनले भने, “केही राजनीतिक दलका शीर्ष नेताहरूले हामी विवरण बुझाउँदैनौँ भनेर भन्नुभएको छ। त्यसबारे हाम्रो कुनै टिप्पणी छैन। तर नेपाली कांग्रेसका सबै साथीहरूले आफ्नो विवरण बुझाउनुहुन्छ।”
थापाले सरकारद्वारा गठन गरिने आयोगको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि भविष्यमा प्रश्न नउठ्ने गरी काम गर्नुपर्नेमा जोड दिए। उनले सरकारमा रहेका व्यक्तिहरू समेत छानबिनको दायरामा आउनुपर्ने आवश्यकता औंल्याए।



कागजपत्र |
