कञ्चनपुरका १५ सडक आयोजनाका ठेक्का तोडियो, निर्माण कम्पनीमाथि कारबाही


दोधारा चाँदनी – कञ्चनपुरमा निर्माण कार्य अलपत्र पारिएका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ। पूर्वाधार विकास कार्यालयले सम्झौता अनुसार निर्धारित समयभित्र काम सम्पन्न नभएपछि ती आयोजनाका ठेक्का रद्द गरेको हो।

कार्यालयका अनुसार निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौताअनुसार काम सम्पन्न भइसक्नुपर्ने भए पनि थपिएको म्यादसमेत समाप्त हुँदासम्म निर्माण कार्य पूरा नभएपछि ठेक्का तोड्ने निर्णय गरिएको हो।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले समयमै काम नगर्ने निर्माण कम्पनीका ठेक्का रद्द गरिएको बताए। उनका अनुसार यसअघि २५ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएकोमा केही निर्माण व्यवसायीले काम सुरु गरेपछि हाल १५ वटा ठेक्का मात्र रद्द गरिएको हो।

कार्यालयका अनुसार आव २०७८/७९ देखि सुरु भएका धेरै सडक आयोजनामा प्रगति न्यून देखिएपछि यस्तो कदम चालिएको हो। निर्माण व्यवसायीले लामो समयसम्म काम नगरी आयोजना अलपत्र पार्दा स्थानीयवासीले निरन्तर गुनासो गर्दै आएका थिए।

रद्द गरिएका ठेक्कामध्ये एसएन निर्माणका चार, नागार्जुनका चार, राधाभानुका दुई, गणपतिका चार तथा आरपी कन्स्ट्रक्सनको एक ठेक्का रहेका छन्।

कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ तथा ठेक्का सम्झौताको प्रावधानअनुसार सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने जनाएको छ। साथै, कार्य सम्पादन जमानत, धरौटी तथा पेस्की रकम जफत गर्ने प्रक्रिया पनि अघि बढाइनेछ।

कार्यालयले ठेक्का रद्द भएका निर्माण व्यवसायीलाई १५ दिनभित्र वित्तीय फरफारक गर्न समय दिएको छ। ग्रामीण क्षेत्रका अधिकांश सडक परियोजना अलपत्र परेपछि स्थानीयवासी दैनिक आवतजावत, कृषि उपज ढुवानी तथा अन्य सेवा पहुँचमा कठिनाइ भोग्न बाध्य भएका छन्।

प्रतिक्रिया