नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा


काठमाडौं- ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङ्सको मद्दतमा नेपालले मलेसियालाई १६८ रनले पराजित गर्दै एसियाली खेलकुद (एसियाड) छनोट प्रतियोगिताको सेमिफाइनलमा समूह विजेताका रूपमा स्थान सुरक्षित गरेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले प्रस्तुत गरेको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १०८ रनमा सीमित भयो। हारका बाबजुद मलेसिया समूह उपविजेताका रूपमा अन्तिम चारमा पुग्न सफल रह्यो ।

मलेसियाको ब्याटिङलाई धराशायी बनाउन शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १-१ विकेट हात पारे ।

मलेसियाका कप्तान सयाद अजिजले सर्वाधिक ५४ रन बनाए भने सरभिन मुनिएन्डीले १८ तथा मुहम्मद हजिक एमानले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

यसअघि सिंगापुर नेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल खडा गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेल नायक बने। उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतमा १२६ रनको विस्फोटक इनिङ्स खेले । २५ बलमा अर्धशतक पूरा गरेका उनले ४४ बलमै शतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरे। उनी ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि लगातार दुई शतक बनाउने पहिलो खेलाडी बने।

अर्का ओपनर आशिफ शेखले पनि आक्रामक ब्याटिङ गर्दै २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रन जोडे। कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन बनाउँदा ४ छक्का र १ चौका प्रहार गरे।

सन्दीप जोराले १५ रन तथा लोकेश बमले १० रनको योगदान दिए। कुशल मल्ल ९ र सोमपाल कामी १ रनमा अविजित रहे।मलेसियाका लागि विरनदिप सिंहले ३ विकेट लिए भने सयाद अजिज र विजय युन्नीले समान २-२ विकेट हात पारे । यसअघि नै चीनलाई पराजित गरिसकेका नेपाल र मलेसियाले एसियाडका लागि स्थान सुनिश्चित गरिसकेका थिए । तर समूह विजेताको टुंगो लगाउने खेलमा नेपालले एकपक्षीय प्रदर्शन गर्दै आफ्नो दाबेदारी थप बलियो बनाएको छ ।

प्रतिक्रिया