
रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी अस्पताल धाउन बाध्य
कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राहीहरू समस्यामा परेका छन्। कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमै उपलब्ध नभएपछि उपचारका लागि पुगेका बिरामी प्रभावित बनेका हुन्।
महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले प्रदेश आपूर्ति केन्द्रबाट खोप प्राप्त नभएकाले अस्पतालले सेवा दिन नसकेको बताए। उनका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन्।
“अस्पतालमा दैनिक ४०/५० जना बिरामी खोप लगाउन आउँछन्, तर हामीसँग खोप उपलब्ध छैन,” उनले भने, “जेठ महिनादेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि सेवा दिन समस्या भएको छ।”
धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भने सुदूरपश्चिममा मात्र नभई देशभर नै रेबिजविरुद्धको खोप अभाव रहेको जनाएको छ।
केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीका अनुसार प्रदेशका सबै अस्पतालमा रेबिज खोपको अभाव छ। “सुदूरपश्चिममा मात्रै नभई अहिले मुलुकभर नै रेबिजविरुद्धको खोप अभाव छ,” उनले भने, “खोप कहिलेसम्म उपलब्ध हुन्छ भन्ने यकिन भइसकेको छैन।”
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल तथा प्रदेशका नौवटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा रेबिजविरुद्धको खोप उपलब्ध गराउँदै आएको छ। तर हाल आपूर्ति रोकिँदा अधिकांश स्वास्थ्य संस्थामा सेवा प्रभावित भएको छ।
खोप अभावका कारण कतिपय बिरामी निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर खोप लगाउन बाध्य भएका छन्।
महाकाली प्रादेशिक अस्पताल पुगेकी सेवाग्राही लिली कुँवरले सरकारी अस्पतालमा खोप नपाएपछि निजी स्वास्थ्य संस्थाबाट खोप खरिद गर्नुपरेको बताइन्।
“सरकारी अस्पतालमा खोप पाइएन। निजी स्वास्थ्य संस्थाबाट ६४५ रुपैयाँ तिरेर खरिद गर्यौं, त्यो पनि सहजै पाइएन,” उनले भनिन्, “तीन पटक लगाउनुपर्ने खोप अर्को पटक पनि पाइन्छ कि पाइँदैन भन्ने चिन्ता लागेको छ।”
रेबिज एक घातक रोग भएकाले जनावरको टोकाइपछि समयमै खोप लगाउनु अत्यावश्यक मानिन्छ। यस्तो अवस्थामा सरकारी स्वास्थ्य संस्थामै खोप अभाव हुँदा बिरामीहरू थप समस्यामा परेका छन्।



कागजपत्र |
