
राप्रपा वैधानिकताविहीन भएको धवलशम्शेर राणाको दाबी
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीले वैधानिकता गुमाइसकेको दाबी गर्दै नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि सबै राष्ट्रवादी समूह, दल र अभियानहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
बुधबार जारी गरिएको विज्ञप्तिमा राणाले राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल गत मंसिरमै सकिएको र थप गरिएको ६ महिनाको अवधि पनि यही जेठ १९ गते समाप्त भइसकेकाले पार्टी वैधानिकताविहीन बनेको दाबी गरेका हुन्।
उनका अनुसार महाधिवेशन सुझाव समितिले निर्वाचनको समयतालिकालाई ध्यानमा राख्दै महाधिवेशन मंसिरभित्र वा निर्वाचन ढिलो भएमा जेठ महिनाभित्र सम्पन्न गर्न सुझाव दिएको थियो। सोही आधारमा केन्द्रीय कार्यसमितिको कार्यकाल ६ महिना थप गरिएको भए पनि सो अवधि पनि समाप्त भइसकेको र अब पार्टी वैधानिक रूपमा कार्यरत अवस्थामा नरहेको उनको भनाइ छ।
राणाले आफू पनि उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा गठन गरिएको महाधिवेशन सुझाव समितिको सदस्य रहेको उल्लेख गर्दै समितिको सुझावलाई बेवास्ता गरिएको आरोपसमेत लगाएका छन्।
उनले पार्टी नेतृत्वले पटक–पटक दिइएका सुझाव र निर्णय कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। अध्यक्षले आफूलाई महाधिवेशनको जिम्मेवारीबाट पन्छिएको वा भागेको भन्ने आशयमा दिएको अभिव्यक्ति “दुष्प्रचारपूर्ण र हास्यास्पद” भएको उनको टिप्पणी छ।
राणाले नेतृत्वको आत्मकेन्द्रित र गैरजिम्मेवार प्रवृत्तिका कारण पछिल्लो निर्वाचनमा पार्टीले साख मात्र नभई वैचारिक मूल्य, मान्यता र सैद्धान्तिक आधारसमेत गुमाएको दाबी गरेका छन्।
उनका अनुसार पार्टी जनताबाट टाढिँदै गएको र सयौँ नेता–कार्यकर्ताले पार्टी छाडिसकेको अवस्था छ। यस्तो परिस्थितिमा पार्टीका मूल्य र मान्यता स्थापित हुने सम्भावना कमजोर बन्दै गएको भन्दै उनले अध्यक्षको भनाइबाट भ्रमित नहुन आग्रह गरेका छन्।
साथै, उनले सम्पूर्ण राष्ट्रवादी शक्ति, समूह, दल र अभियानहरूबीच आपसी सहकार्य र एकतामार्फत नयाँ, प्रजातान्त्रिक, विश्वसनीय र लक्ष्यप्रति इमानदार राष्ट्रवादी शक्ति निर्माणको अभियानमा जुट्न आह्वान गरेका छन्।



कागजपत्र |
