
नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५.४३ अर्ब रुपैयाँ ऋण सहायता
काठमाडौं- जापान सरकारले नागढुंगा सुरुङमार्ग परियोजनाका लागि नेपाललाई थप ऋण सहायता उपलब्ध गराउने भएको छ। नेपाल र जापानबीच परियोजनाका लागि ५.७ अर्ब येन अर्थात् करिब ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको अतिरिक्त ऋण सहायता सम्बन्धी सम्झौता भएको हो।
नेपालस्थित जापानी दूतावासका अनुसार नेपालका लागि जापानका राजदूत माएदा तोरु र अर्थसचिव घनश्याम उपाध्यायले उक्त सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरेका छन्।
यसअघि सन् २०१६ को डिसेम्बरमा नागढुंगा सुरुङमार्ग परियोजनाका लागि १५.६३ अर्ब येनसम्मको ऋण सहायता उपलब्ध गराउने पहिलो सम्झौता भएको थियो। पछिल्लो सहायता थपिएसँगै उक्त परियोजनाका लागि जापानबाट प्राप्त कुल ऋण सहायता २२.३३ अर्ब येन पुगेको छ।
काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सहज बनाउने उद्देश्यले निर्माण भइरहेको नागढुंगा सुरुङमार्ग परियोजना सन् २०१९ मा सुरु गरिएको थियो। हाल परियोजना सम्पन्न हुने चरणमा पुगेको छ।
सरकारले यो परियोजना सञ्चालनमा आएपछि काठमाडौं प्रवेश तथा बाहिरिने सवारीसाधनको यात्रा समय घट्नुका साथै यातायात व्यवस्थापनमा समेत महत्वपूर्ण सुधार आउने अपेक्षा गरेको छ।



कागजपत्र |
