पूर्व मुख्यमन्त्री रावल र मन्त्री पालमाथि गाडी भाडा नतिरेको आरोप


धनगढी-  सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि गाडी प्रयोग गरेबापतको भाडा नतिरेको आरोप लागेको छ।

दार्चुलाको मार्मा गाउँपालिकाका स्थायी बासिन्दा तथा हाल कैलालीको गोदावरी नगरपालिकामा बसोबास गर्दै आएका विष्णु विष्टले रावल र पालले आफ्नो स्कार्पियो गाडी दुई महिनासम्म प्रयोग गरे पनि भाडाबापतको दुई लाख रुपैयाँ अहिलेसम्म नदिएको दाबी गरेका छन्।

विष्टका अनुसार से १ च १६९७ नम्बरको स्कार्पियो गाडी २०८० साल जेठ ९ गतेदेखि भदौ ९ गतेसम्म पूर्व मुख्यमन्त्री रावलको प्रयोगका लागि मन्त्री पालको आग्रहमा उपलब्ध गराइएको थियो। मासिक एक लाख रुपैयाँ भाडा दिने मौखिक सहमतिअनुसार गाडी उपलब्ध गराए पनि करिब दुई वर्ष बित्न लाग्दा समेत रकम प्राप्त नभएको उनको भनाइ छ।

उनले बैतडी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित पालले नै गाडीको व्यवस्थापन गर्न आग्रह गरेको उल्लेख गर्दै लिखित सम्झौता गर्ने प्रस्तावसमेत अस्वीकार गरिएको बताए।

“मासिक एक लाख रुपैयाँ भाडा दिने सहमतिमा गाडी उपलब्ध गराएको हुँ। सम्झौताको कागज बनाऔँ भन्दा पालजीले ‘त्यो आवश्यक छैन, म छु’ भन्नुभएको थियो। अहिले दुई वर्ष पूरा भएर तेस्रो वर्ष लाग्न थाल्यो, तर रकम पाएको छैन,” विष्टले भने।

उनका अनुसार दुई महिनासम्म गाडी प्रयोग गरिए पनि त्यसपछि रावल र पाल दुवैले भाडा रकमबारे चासो नदेखाएको आरोप छ। रकम माग्न पटक–पटक सम्पर्क गर्दा समेत बेवास्ता गरिएको उनले गुनासो गरे।

“रकमबारे कुरा गर्दा रावलजीले ‘मैले कुनै सम्झौता गरेको छैन, गाडी चढेको मात्रै हुँ’ भन्नुहुन्छ। पालजीलाई सम्पर्क गर्दा फेसबुकमा किन लेखेको भन्दै असन्तुष्टि जनाएर फोन राख्नुभयो,” विष्टले बताए।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा पूर्व मुख्यमन्त्री रावलले फोन काटेका थिए भने मन्त्री पालको मोबाइल फोन बन्द रहेको जनाइएको छ।

विष्टले एमालेका शीर्ष नेतामात्र नभई २०७९ सालको निर्वाचनका क्रममा पार्टीका अन्य नेताहरूले पनि गाडी प्रयोग गरेर भाडा नतिरेको दाबी गरेका छन्। उनका अनुसार चुनावी अभियान तथा पार्टीका विभिन्न गतिविधिका क्रममा प्रयोग गरिएको गाडीको कुल पाँच लाख १५ हजार रुपैयाँ अझै उठ्न बाँकी छ।

उनले आफू मधुमेह र उच्च रक्तचापको नियमित औषधि सेवन गरिरहेको उल्लेख गर्दै रकम नपाउँदा आर्थिक तथा मानसिक रूपमा थप समस्या भोग्नुपरेको बताए।

अन्य नेताहरूबाट पनि रकम उठ्न बाँकी रहेको दाबी

विष्टका अनुसार एमाले दार्चुलाका केही स्थानीय नेताहरूले समेत गाडी प्रयोग गरेबापतको रकम हालसम्म भुक्तानी गरेका छैनन्।

उनले लालबहादुर सुनार (अभिषेक) र सुरेश महराबाट संयुक्त रूपमा एक लाख १७ हजार रुपैयाँ, अनिल ठगुन्नाबाट एक लाख १५ हजार रुपैयाँ, कमल विष्टबाट ७० हजार रुपैयाँ तथा २०७९ को प्रदेशसभा निर्वाचनमा दार्चुला क्षेत्र नम्बर–२ बाट एमालेका उम्मेदवार बनेका हरदेव जोशीबाट ८ हजार रुपैयाँ उठ्न बाँकी रहेको दाबी गरेका छन्।

यता, लालबहादुर सुनार, सुरेश महरा र कमल विष्टले चुनावी अवधिमा गाडी प्रयोग गरेको स्वीकार गर्दै हालसम्म रकम व्यवस्थापन गर्न नसकेको बताएका छन्। अनिल ठगुन्नाले भने आफू निर्माण व्यवसायी रहेको उल्लेख गर्दै ठूलो रकम नभई १५ देखि २० हजार रुपैयाँ मात्रै तिर्न बाँकी रहेको दाबी गरेका छन्।

प्रतिक्रिया