
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
बुटवल- लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारुमगर रहेका छन् ।
मुख्यमन्त्री आचार्यले आफ्नै निर्देशन र सल्लाहमा मन्त्रीहरूले राजीनामा दिएको बताएका छन् ।
कांग्रेससँगको सत्ता साझेदारी र सरकारको नेतृत्व परिवर्तनबारे लामो समयदेखि छलफल हुँदै आएको सन्दर्भमा एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो ।
यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान राखेपछि प्रक्रिया रोकिएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले आफ्ना पार्टीका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।
एमाले स्रोतका अनुसार नयाँ मन्त्रीका रूपमा गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ । खत्री यसअघि सामाजिक विकास मन्त्री भइसकेका व्यक्ति हुन् भने भुसाल, घिमिरे र चौधरी पहिलो पटक मन्त्री बन्ने सम्भावित अनुहार हुन् ।
पार्टीले दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भए पनि हालसम्म मन्त्री बन्न नपाएका सांसदलाई प्राथमिकतामा राखेको बताइएको छ । सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरीको नाम सिफारिसमा परेको हो । ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाललाई पनि मन्त्रीका रूपमा अघि सारिएको छ ।
प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या घटाएर ८ मा सीमित गर्ने निर्णय गरिसकेको छ, जसलाई नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।
यस्तै, कांग्रेसले सरकारको नेतृत्व परिवर्तनको दबाब दिइरहेको भए पनि मुख्यमन्त्री आचार्यले बजेट पारित भएपछि अर्थात् असार १ गतेपछि मात्रै नेतृत्व छाड्ने अडान लिएका छन् । प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा कांग्रेसबाट को आउने भन्ने विषय भने अझै टुंगो लाग्न बाँकी छ ।



कागजपत्र |
