भारत–नेपाल स्टार्टअप साझेदारी कार्यक्रमको दोस्रो चरण सुरु, २५ नेपाली स्टार्टअप छनोट


काठमाडौं-  नेपालस्थित भारतीय दूतावासले भारत–नेपाल स्टार्टअप साझेदारी सञ्जाल (आईएन–स्पान) कार्यक्रमको दोस्रो चरण (कोहोर्ट) सुरु भएको घोषणा गरेको छ। कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रका २५ नेपाली स्टार्टअप आठ सातासम्म सञ्चालन हुने उद्यमशीलता तथा नवप्रवर्तनसम्बन्धी विशेष प्रशिक्षणमा सहभागी भएका छन्।

दूतावासका अनुसार छनोट भएका स्टार्टअपहरू कृत्रिम बौद्धिकता (एआई), जैविक प्रविधि (बायोटेक), स्वच्छ प्रविधि, वित्तीय प्रविधि (फिनटेक), स्वास्थ्य प्रविधि, कृषि प्रविधि (एग्रिटेक), ई–कमर्स, मोबिलिटी, उत्पादन तथा निर्माण प्रविधि, द्रुत उपभोग्य वस्तु (एफएमसीजी), एयरोस्पेस, इन्टरनेट अफ थिङ्स (आईओटी) तथा सफ्टवेयर एज अ सर्भिस (सास) लगायतका क्षेत्रमा सक्रिय रहेका छन्।

कार्यक्रमको उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सहभागी स्टार्टअपहरूको विविधता र सम्भावनाको प्रशंसा गरेका थिए। उनले नेपाली नवउद्यमीहरूलाई भारतको तीव्र रूपमा विस्तार भइरहेको स्टार्टअप इकोसिस्टमसँग सहकार्य गर्दै अवसरहरूको उपयोग गर्न आग्रह गरे।

आगामी आठ साताको अवधिमा सहभागी स्टार्टअपहरूले उद्यमशीलता विकास, कृत्रिम बौद्धिकतासम्बन्धी सीप अभिवृद्धि, लगानीकर्तासमक्ष परियोजना प्रस्तुत गर्ने क्षमता विकास (इन्भेस्टमेन्ट पिचिङ) लगायतका विषयमा प्रशिक्षण प्राप्त गर्नेछन्। साथै उनीहरूले सम्बन्धित क्षेत्रमा कार्यरत भारतीय स्टार्टअपहरूसँग नेटवर्किङ तथा इन्टर्नसिपका अवसरसमेत पाउनेछन्।

भारतीय दूतावासका अनुसार कार्यक्रमको उद्देश्य नेपाल र भारतबीच स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउनुका साथै नेपाली नवउद्यमहरूलाई क्षेत्रीय उद्यमशीलता इकोसिस्टमसँग जोडेर उनीहरूको क्षमता अभिवृद्धि गर्नु हो।

प्रतिक्रिया