
भाजपा कार्यालयमा रवि लामिछानेको भव्य स्वागत
काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक भेटघाट सुरु गरेका छन्। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका उनलाई भाजपा केन्द्रीय कार्यालयमा परम्परागत झाँकी, फूलमाला तथा सम्मानसहित भव्य स्वागत गरिएको छ।
भ्रमणका क्रममा उनले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका छन्। भेटमा पार्टी कार्यालयको संरचना र कार्यशैलीबारे जानकारी आदान–प्रदान गरिएको बताइएको छ।
रास्वपाका अनुसार दुई पक्षबीच लोकतान्त्रिक अभ्यास, दलगत अनुभव आदान–प्रदान, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको छ।
लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारत गएका हुन्। भ्रमण अवधिमा उनले नेपाली समुदाय र आफ्ना समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, उनले अयोध्या भ्रमणसमेत गर्ने कार्यक्रम तय भएको छ।



कागजपत्र |
