नेपाल विद्यार्थी संघको अध्यक्षमा करूणा कटुवाल मनोनीत


काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाल मनोनीत भएकी छन्।

कांग्रेस सभापति गगन थापाले आज धनकुटाकी कटुवाललाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको निर्णयअनुसार सभापति थापाले विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघमा नयाँ अध्यक्ष नियुक्त गरेका हुन्।

पार्टीले समयमै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित कटुवाललाई जिम्मेवारी दिएको जनाएको छ।

नेविसंघ लामो समयदेखि तदर्थ समितिको भरमा सञ्चालन हुँदै आएको थियो। यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेविसंघ अध्यक्षमा मनोनीत गरेका थिए।

कांग्रेसले तोकिएको समयभित्र महाधिवेशन गर्न नसकेपछि नेविसंघसहित पाँच भ्रातृ संस्था स्वतः विघटन भएको जनाएको छ। हाल नेपाल महिला संघ, तरुण दल र नेविसंघमा नेतृत्व पुनः गठन प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया