धवलशमशेर राणाद्वारा नयाँ राष्ट्रवादी अभियानको घोषणा


काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता धवलशमशेर राणाले नयाँ राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेका छन्।

आइतबार दिउँसो राप्रपाका असन्तुष्ट नेताहरू काठमाडौंको एक होटलमा छलफलमा जुटेका थिए। सो छलफलपछि राणाले विज्ञप्ति जारी गर्दै आफूहरू देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित नयाँ बाटो तय गर्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन्।

यद्यपि उनले विज्ञप्तिमा आफ्नो वर्तमान पद वा पार्टी संरचनाबारे भने कुनै उल्लेख गरेका छैनन्।

राणाले राष्ट्रवादी विचारधारामा विश्वास राख्ने सबैलाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

“देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू तथा नवयुवा पुस्तालाई समेत यस नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।

उनका अनुसार राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि अपेक्षित सफलता प्राप्त हुन सकेन।

“राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्‍यौं। तर विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत दिशातर्फ जाने क्रमले पार्टी जनताबाट दण्डित भयो,” राणाले भनेका छन्।

उनले पार्टीमा रहेका साथीहरूलाई वर्तमान बाटोमै रहन शुभकामना दिँदै, वैरभाव नराखी सहकार्य र एकताको आधारमा राष्ट्रवादी शक्तिलाई नयाँ दिशा दिन सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

प्रतिक्रिया