
प्रधानमन्त्रीसँग कांग्रेस प्रमुख सचेतकको प्रश्न- नेपालले मिचेको भारतीय भूमि कहाँ हो ?
काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा गरेको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिबारे स्पष्ट विवरण सार्वजनिक गर्न माग गरेकी छन्।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उक्त टिप्पणीपछि प्रतिक्रिया दिँदै थापाले नेपालले मिचेको भनिएको भारतीय भूमि कहाँ रहेको हो भन्ने तथ्य संसद्लाई जानकारी गराउनुपर्ने बताइन्।
प्रधानमन्त्रीले पर्याप्त तथ्य र आधारबिना दुई देशको सीमासम्बन्धी संवेदनशील विषयमा अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाइन्।
“प्रधानमन्त्रीले पनि नेपालले भारतको भूमि मिचेको भन्नुभयो। कहाँ मिचिएको हो ? अवगत गराउनुपर्यो। यो गम्भीर र आपत्तिजनक विषय हो। प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने त्यसको विवरण संसद्मा राखिनुपर्यो,” थापाले भनिन्।
उनले प्रधानमन्त्रीको भनाइ पुष्टि हुन नसके संसद्को अभिलेखबाट उक्त टिप्पणी हटाउन पनि माग गरिन्।
“यदि यो कुरा सही होइन भने संसद्को रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु,” उनले भनिन्।
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा थप बहस र जिज्ञासा उत्पन्न भएको छ।



कागजपत्र |
