विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न अध्ययन थालिने : प्रधानमन्त्री बालेन


काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्न सरकारले आवश्यक अध्ययन र तयारी अघि बढाउने बताएका छन्।

आइतबार प्रतिनिधिसभामा आयोजित सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद महावीर पुनले उठाएको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री शाहले प्रवासी नेपालीका लागि मतदानको व्यवस्था गर्ने विषयमा सरकार गम्भीर रहेको बताए।

उनका अनुसार विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न सक्ने दुई सम्भावित विकल्पबारे छलफल भइरहेको छ। तीमध्ये दूतावासमा पुगेर मतदान गर्ने तथा मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था समावेश छन्।

यस विषयलाई प्रविधिमैत्री, सुरक्षित र व्यवस्थित बनाउन प्रधानमन्त्री शाहले विज्ञान तथा सूचना प्रविधिमन्त्रीलाई आवश्यक अध्ययन र तयारी अघि बढाउन निर्देशन दिएको जानकारी पनि दिए।

“विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले दूतावासमै पुगेर वा मोबाइल एपमार्फत मतदान गर्न सक्ने दुई उपायबारे छलफल भइरहेको छ,” प्रधानमन्त्री शाहले भने, “मोबाइलबाट मतदान गर्दा उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र सम्भावित प्रभावलाई ध्यानमा राख्दै स्वतन्त्र तथा निष्पक्ष मतदान कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सरकार गम्भीर छ।”

यसै अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुशासन र सार्वजनिक सेवा प्रवाहमा भएका सुधारबारे उठाइएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकारले चालु वर्षलाई ‘सुशासनको वर्ष’का रूपमा अघि बढाएको बताए।

उनले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा सरकार केन्द्रित रहेको पनि उल्लेख गरे।

प्रतिक्रिया