
कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडी ठक्करबाट बालकको मृत्यु
काठमाडौं- कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा टेम्पो चालकसहित अन्य यात्रुहरू पनि घाइते भएका छन् ।
कपिलवस्तु नगरपालिका–३ स्थित महिता चोकमा बुधबार बिहान करिब ११ बजे सशस्त्र प्रहरीको गाडीले सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो ।
दुर्घटनामा कपिलवस्तु नगरपालिका–६ सेमरीका अतिकूर रहमानका तीन वर्षीय छोरा महफुज मुसलमान गम्भीर घाइते भएका थिए । बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै टेम्पो चालक ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन् र उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य आठ जना यात्रु सामान्य घाइते भएका थिए भने उपचारपछि घर फर्किएका छन् ।
दुर्घटनापछि ठक्कर दिने सशस्त्र प्रहरीको गाडी र चालकलाई अहिलेसम्म नियन्त्रणमा नलिइएको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । मृतक बालकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ ।



कागजपत्र |
