
स्वास्थ्य बीमा बोर्डको १८ अर्बभन्दा बढी दायित्व भुक्तानी बाँकी
काठमाडौं- स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म १८ अर्ब रुपैयाँभन्दा बढी दायित्व भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरणअनुसार हालसम्म ११ अर्ब ५७ करोड ९ लाख २१ हजार रुपैयाँ भुक्तानी गरिएको छ । तर विभिन्न अस्पताल तथा सेवा प्रदायक संस्थालाई दिनुपर्ने थप १८ अर्ब १२ करोड ७२ लाख ९१ हजार ५१७ रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ ।
लामो समयदेखि अस्पतालहरूले दाबी भुक्तानी नपाएको गुनासो गर्दै आएका बेला बोर्डले दाबी समीक्षा तथा मूल्याङ्कन कार्यलाई तीव्र बनाएको जनाएको छ ।
अर्थ मन्त्रालयको विशेष स्वीकृतिमा तीन महिनाका लागि १५४ जना मेडिकल अधिकृत परिचालन गरी आर्थिक वर्ष २०८१/८२ को दाबी समीक्षा तथा मूल्याङ्कन कार्य सम्पन्न गरिएको बोर्डले जनाएको छ ।
बीमा प्रणालीमा हुन सक्ने त्रुटि तथा ठगी नियन्त्रण गर्न बोर्डले राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्धताको प्रक्रिया पनि अघि बढाएको छ । यसबाट एक व्यक्तिको बीमा अर्कोले प्रयोग गर्ने तथा दोहोरो बीमा हुने समस्या नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
त्यस्तै बीमितलाई आवश्यकता अनुसार फरक–फरक पोलिसी छनोटको सुविधा दिन एक्च्युरियल एनालिसिसको काम भइरहेको बोर्डले जनाएको छ । साथै हालको सुविधा थैली परिमार्जन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
प्रगति विवरणअनुसार प्राथमिक स्वास्थ्य केन्द्र तथा १५ शैयासम्मका स्थानीय अस्पतालमा उपलब्ध ९८ प्रकारका निःशुल्क औषधिमा क्यापिङ प्रणाली लागू गरिएको छ ।
यसैबीच ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई पूर्ण रूपमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराएर सेवा दिइँदै आएको बोर्डले जनाएको छ । विपन्न नागरिक औषधि उपचार कार्यक्रम पनि हाल स्वास्थ्य बीमा बोर्डमार्फत एकीकृत रूपमा सञ्चालन भइरहेको छ ।



कागजपत्र |
