कोरिया जान नपाएको गुनासो गर्दै ईपीएस उत्तीर्ण युवाहरूको प्रदर्शन


काठमाडौं –  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर पनि लामो समयदेखि दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सोमबार माइतिघरमा भेला भएका उनीहरूले भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम भए पनि वर्षौँसम्म रोजगारी अवसर नपाएको गुनासो गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले रोस्टरमा नाम रहेको दुई वर्षभित्र रोजगारदाताले छनोट नगरे नाम स्वतः हट्ने व्यवस्था भएकाले उक्त म्याद थप गरी कम्तीमा दुई वर्ष थप गर्न माग गरेका छन् ।

त्यसैगरी, उनीहरूले परीक्षा उत्तीर्ण गरेकाहरूको फाइल पुनः रोजगारदातासम्म पठाउनुपर्ने माग पनि अघि सारेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले “सबै मापदण्ड पूरा गरेर पनि कोरिया नलैजाने प्रणाली खारेज गर”, “हामीलाई आश्वासन होइन, नतिजा चाहियो” भन्दै श्रममन्त्रीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया