भदौ २३ को दमन स्मरण गर्दै सांसद शर्माले मागे न्याय र जवाफ


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले आफू सत्तापक्ष वा प्रतिपक्षको नभई ‘जेनजी’ पुस्ताको आवाज बनेर संसदमा उभिएको बताएका छन् । भदौ २३ गतेको दमन र त्यस क्रममा सहिद भएकाहरूको स्मरणमा उनले आज संसदमा विशेष समयमा भावुक सम्बोधन गरे ।

जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी शर्माले आफ्नै काखमा अन्तिम सास फेरेका सहिद सुलभ राज श्रेष्ठ र बागलुङका सहिद सौरन किशोर श्रेष्ठलाई सम्झिँदै सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे ।

आन्दोलनको दिनको स्मरण गर्दै उनले भने, ‘त्यही दिन चलेको गोलीको दाग बोकेर म आज यो संसदमा उभिएको छु । सायद केही इन्च मात्रै फरक परेको भए आज म सांसद होइन, सहिदको तस्बिरभित्र सीमित हुने थिएँ ।’

सांसद शर्माले राज्यप्रति कडा प्रश्न उठाउँदै आन्दोलनकारी युवाहरूमाथि गोली किन चलाइयो भन्ने प्रश्न गरे । उनले सोधे, ‘हामीमाथि गोली किन चलाइयो ? ती अबोध युवाहरू कुन अपराधमा मारिए ? र गोली चलाउने आदेश दिनेहरू आज कहाँ छन् ?’

आफ्ना सन्तान गुमाएका परिवार अझै पनि न्यायको प्रतीक्षामा रहेको उल्लेख गर्दै उनले सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।

‘सत्य र उत्तरको प्रतीक्षामा रहेका परिवारहरूले न्याय नपाई यो संसार छोड्नुपर्ने अवस्था नआओस्,’ शर्माले भने ।

उनले संसदमार्फत सरकारलाई पीडित परिवारका प्रश्नको जवाफ दिन र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरे ।

प्रतिक्रिया