
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र प्रकाशित हुने भएपछि मन्त्रालयले कक्षा ११ को पढाइ असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार सूचना सबै विद्यालय तथा स्थानीय तहमा प्रवाह गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ ।
यसअघि एसईईको नतिजा प्रकाशन र कक्षा ११ को पढाइ सुरु हुने मितिबारे अन्योलता रहँदै आएको थियो । विद्यार्थी तथा अभिभावकको अन्योल अन्त्य गर्दै शैक्षिक सुशासन कायम गर्न र पठनपाठनलाई समयमै प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु हुँदा विद्यालय शिक्षाको गुणस्तर वृद्धि हुने तथा सबै कक्षाको पठनपाठनमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ ।



कागजपत्र |
