भारतमा ‘ककरोच जनता पार्टी’को उदय, कराेडाैं युवाको अनलाइन आन्दोलन


एजेन्सी-  भारतको सामाजिक सञ्जालमा व्यंग्यात्मक राजनीतिक आन्दोलन तीव्र गतिमा फैलिँदै गएको छ, जसले लाखौं युवालाई एकै ठाउँमा जोडेको छ । ‘ककरोच जनता पार्टी (सीजेपी)’ नाम दिइएको यो अनलाइन अभियान छोटो समयमै व्यापक चर्चामा आएको छ ।

हालै मात्र सुरु भएको यो पार्टीले इन्स्टाग्राममा भारतीय जनता पार्टी (बीजेपी)को आधिकारिक अकाउन्टलाई फलोअर्स संख्यामा समेत उछिनिसकेको बताइएको छ । यस पार्टीको इन्स्टाग्राम ह्यान्डलमा हाल १ करोड २० लाखभन्दा बढी फलोअर्स पुगिसकेका छन् र यो संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । तुलनात्मक रूपमा भारतीय सत्तारुढ दल बीजेपीका ८७ लाख र भारतीय राष्ट्रिय कंग्रेसका १ करोड ३२ लाख फलोअर्स रहेका छन् ।

यो आन्दोलनको सुरुवात भारतका मुख्य न्यायाधीश सूर्यकान्तले गरेको एक टिप्पणीपछि भएको हो । मे १५ मा अदालतको सुनुवाइका क्रममा उनले बेरोजगार युवालाई ‘ककरोच’ र ‘समाजका परजीवी’ भनेर टिप्पणी गरेको भनिएपछि विवाद चर्किएको थियो । उनले केही युवाहरू मिडिया, सामाजिक सञ्जाल र आरटीआईमार्फत संस्थामाथि आक्रमण गरिरहेको पनि बताएका थिए ।

यद्यपि पछि उनले आफ्नो टिप्पणी फर्जी डिग्रीधारीहरूलाई लक्षित रहेको स्पष्ट पारे पनि युवाहरूको आक्रोश कम भएन ।

त्यसपछि मे १६ मा पुणेका अभिजीत दीपकेले एक्स (ट्विटर) मा व्यंग्यात्मक पोस्ट गर्दै ‘सबै ककरोचहरू एकजुट भए भने के होला ?’ भन्ने प्रश्न उठाए । यही पोस्टले ‘ककरोच जनता पार्टी’को रूप लिएको हो । उनले तुरुन्तै वेबसाइट, इन्स्टाग्राम र एक्स अकाउन्ट खोलेर सदस्यता अभियान समेत सुरु गरे ।

अभिजीत दीपके बोस्टन विश्वविद्यालयबाट पब्लिक रिलेसन्सका स्नातक हुन् र हाल डिजिटल स्ट्राटेजिस्टका रूपमा कार्यरत छन् । उनका अनुसार यो सुरुमा केवल जोक थियो, तर युवाहरूको निराशा र आक्रोशका कारण यसले ठूलो अभियानको रूप लिएको हो ।

भारतमा बढ्दो बेरोजगारी, परीक्षा प्रणालीमा अनियमितता, महँगी र अवसरको अभावजस्ता कारणले युवाहरूमा असन्तोष बढिरहेको अवस्थामा यो आन्दोलनले गति लिएको बताइन्छ । ‘हामी ककरोच हौं, हामी बाँच्छौं र एकजुट हुन्छौं’ भन्ने भावनासमेत सामाजिक सञ्जालमा फैलिएको छ ।

यो अभियानले केही दिनमै इन्स्टाग्राममा एक करोडभन्दा बढी फलोअर्स र लाखौं सदस्यता प्राप्त गरेको दाबी गरिएको छ । केही राजनीतिक व्यक्तित्व र विश्लेषकहरूले यसलाई समर्थनसमेत जनाएका छन् भने कतिपयले यसलाई युवाहरूको असन्तोषको प्रतीक मानेका छन् ।

पार्टीले आफूलाई धर्मनिरपेक्ष, समाजवादी र व्यंग्यात्मक राजनीतिक संगठनका रूपमा प्रस्तुत गर्दै न्यायाधीशहरूको सुविधा कटौती, ५० प्रतिशत महिला आरक्षण, शिक्षा–स्वास्थ्य सुधार, बेरोजगारी समाधान तथा राजनीतिक पारदर्शिताजस्ता मागहरू अघि सारेको छ ।

हालसम्म यो पूर्ण रूपमा अनलाइन व्यंग्यात्मक आन्दोलनका रूपमा मात्र रहेको भए पनि यसले भारतीय राजनीतिमा सामाजिक सञ्जालको प्रभाव र युवाहरूको शक्ति पुनः उजागर गरेको छ ।

प्रतिक्रिया