हान्टा भाइरस संक्रमण र नेपालमा विपद् व्यवस्थापनको चुनौती


डा प्रकाश बुढाथोकी, काठमाडाैं-  नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन अप्रिल १ मा अर्जेन्टिनाबाट बेलायत, अमेरिका, स्पेनलगायतका २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए।

उक्त क्रुजशिपमा हान्टा भाइरसको एन्डिस स्ट्रेन फैलिएपछि दुई डच नागरिकसहित तीन जनाको मृत्यु, पाँच जना प्रयोगशाला प्रमाणित संक्रमित र जहाजमै भएका करिब १५० जतिको सुरक्षित अवतरणको चर्चा फैलियो।

जहाजबाट बीचमा झरेका विश्वका विभिन्न कुनामा पुगिसकेका यात्रुको र उनीहरुको सम्पर्कमा आएकालाई कन्टयाक्ट ट्रेसिङ खोजी कार्य आज पनि जारी छ। यात्रुलाई स्वास्थ्य संस्थामा सम्पर्कमा आउन र क्वारेन्टिनमा बस्न विभिन्न सरकारले आह्वान गरिसकेका छन्।

विश्व स्वास्थ्य संगठनले समेत जोखिमलाई कम तर सचेतनालाई गम्भीर रुपमा स्टेज चारमा लिदै अन्तरराष्ट्रिय स्वास्थ्य नियमावलीअन्तर्गत निगरानी र नियन्त्रण प्रक्रिया सक्रिय बनाएको छ।

विश्व स्वास्थ्य संगठनले आधिकारिकरुपमा बेलायत, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, सिंगापुर र टर्कीलगायत १२ देशलाई सर्तक गराएको छ। जहाजमा अप्रिल ६ देखि लक्षण देखिन थालेको र अप्रिल ११ मा पहिलोपटक एक जनाको मृत्यु भएको थियो।

सुरुमा सामान्य श्वासप्रश्वाससम्बन्धी रोग ठानिएको ती व्यक्तिको मृत्युृपछि संक्रमित भएको पुष्टि भएको थियो। जहाज सञ्चालक कम्पनी ओसनवाइड एक्सपिडिसनका अनुसार गत अप्रिल २४ मा सेन्ट हेलेनामा ३० जना यात्रु ओर्लिएका थिए, जसमा डच दम्पती थिए।

ती दम्पतीमध्ये श्रीमानको जहाजमै मृत्युु भएको थियो भने पछि श्रीमतीको पनि मृत्युृ भयो। जहाजबाट ओर्लिएपछि जोहोनेसवर्गमा एक संक्रमितको मृत्यु, स्विटजरल्याण्डमा अर्काे पुष्टि भएपछि मात्र हान्टा भाइरस भएको पुष्टि भएको हो।

जहाजमा नभएकी एक महिलामा समेत शंकास्पद लक्षणहरु देखिएको छ र उनको परीक्षण गरिएको छ। क्यानाडामा समेत ब्रिटिस कोलम्बियामा आइसोलेसनमा रहेका क्रुज यात्रुमा संक्रमण पुष्टि भएको छ र उनीसँग सम्पर्क आएकालाई आइसोलेसनमा राखिएको छ।

अर्को कोभिड त होइन हान्टा भाइरस ?

हान्टा भाइरस ब्रुन्याभिरिडी परिवारअन्तर्गत पर्ने २० भन्दा बढी भाइरसहरूको समूह हो, जसको नामकरण दक्षिण कोरियाको हन्तान नदीको नामबाट गरिएको हो, जहाँ सन् १९७८ मा पहिलो पटक यो भाइरस पहिचान गरिएको थियो।

अर्थोहान्टाभाइरस जेनस, हन्टाभिरिडी परिवार तथा बुन्याभाइरालेस अर्डरअन्तर्गत पर्ने हान्टा भाइरसका विश्वभर स्थानअनुसार २० भन्दा बढी स्पिसिज पहिचान भएका छन्।

सामान्यतया संक्रमित मुसा तथा अन्य रोडेन्टहरूको पिसाब, दिसा वा र्‍यालबाट निस्किएका सूक्ष्म कण वा तिनीहरूले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा श्वासप्रश्वासमार्फत मानिसमा यो भाइरस सर्छ।

यसपटक भने मानिसबाट मानिसमा सरेको पाइएकाले यो दुर्लभ तर चिन्ताजनक मानिएको छ। लामो समयसम्म नजिकको सम्पर्क, एउटै बन्द कोठामा बसाई तथा संक्रमित व्यक्तिको शारीरिक तरलसँग सम्पर्क हुँदा जोखिम बढ्छ।

धेरैजसो भेरियन्ट मानिसमा सजिलै सर्दैनन्। सर्ने भेरियन्ट पनि कोभिड-१९ जस्तै तीव्र रूपमा हावाबाट फैलिने प्रकृतिको होइन।

सन् २०२३ मा युरोपियन क्षेत्रमा हान्टा भाइरस संक्रमणबाट एचएफआरएस भएका एक हजार ८८५ केसअर्थात् प्रतिएक लाखमा ०.४ केस मात्र रिपोर्ट भएका थिए। पूर्वी एसियाका चीन र कोरियामा हरेक वर्ष हजारौं केस रिपोर्ट हुने गर्छन्।

सन् २०२५ भर अमेरिकी महादेशका आठ देशमा २२९ हान्टा भाइरसका केस पुष्टि भएकामा ५९ जनाको मृत्यु भएको रिपोर्ट छ। मेरिकामा हान्टा भाइरस संक्रमण दुर्लभ मानिन्छ र सन् १९९३ देखि २०२३ सम्म जम्मा ८९० केस पुष्टि भएका छन्।

मानिसबाट मानिसमा संक्रमण भएको घटना दक्षिण अमेरिकामा मात्र देखिएको छ, जहाँ २०१८-२०१९ मा भएको प्रकोपमा ३४ जना संक्रमित हुँदा ११ जनाको मृत्यु भएको थियो।

के कस्ता लक्षण हुन्छन् ?

अन्य दीर्घरोग भएका व्यक्ति तथा ज्येष्ठ नागरिक यस संक्रमणका जोखिम समूहमा पर्छन्। उनीहरूमा सजिलै संक्रमण हुने, संक्रमण जटिल अवस्थामा पुग्ने तथा मृत्यु हुने सम्भावना बढी हुन्छ। वातावरणीय तथा इकोलोजिकल कारकहरूले रोडेन्टको संख्यामा असर पार्ने भएकाले संक्रमणको संख्या तथा प्रकोपमा समेत प्रभाव पर्छ।

हान्टाको एन्डिस भाइरसको दुर्लभ तर प्राथमिक संक्रमण नजिक र लामो समयसम्मको मानिस-मानिस सम्पर्कबाट हुन सक्छ। दोस्रो संक्रमण स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीमा कम मात्रामा देखिन्छ, जुन संक्रममणको सुरुआती अवस्थामा बढी संक्रमक हुँदा हुने सम्भावना रहन्छ।

संक्रमण भएपछि लक्षण देखिन सामान्यतया दुईदेखि चार हप्ता लाग्छ। छिटोमा एक हप्ता र ढिलोमा आठ हप्तासम्म लाग्न सक्छ। यसले संक्रमण सार्ने जोखिम अवधि ४२ दिनसम्म हुने भएकाले थप जोखिम बढाएको छ।

यसमा सुरुमा एकदेखि चार हप्तासम्म चिसो लाग्ने, ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, चक्कर लाग्ने, अत्यधिक थकान महसुस हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, झाडापखाला तथा मांसपेशी दुख्ने लक्षण देखिन्छन्।

पछि अचानक श्वासप्रश्वासमा समस्या देखिने, रक्तचापमा परिवर्तन हुने तथा संक्रमण बढ्दै जाँदा फोक्सोमा पानी भरिने, रक्तचाप घट्ने र सास फेर्न अत्यन्त गाह्रो हुने गर्छ।

हान्टा भाइरस संक्रमणले निम्त्याउने दुई प्रमुख गम्भीर समस्यामा हान्टा भाइरस पल्मोनरी सिन्ड्रोम (एचपीएस) र हेमोरेजिक फिभर विथ रिनल सिन्ड्रोम (एचएफआरएस) पर्दछन्।

पल्मोनरी सिन्ड्रोममा भाइरसले सिधै फोक्सोमा असर गरी सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, फोक्सोमा तरल पदार्थ जम्ने, रक्तचाप घट्ने, मुटुको धड्कन तीव्र हुने तथा श्वासप्रश्वासमा गम्भीर अवरोध पैदा भई बिरामीको मृत्यु हुन सक्छ।

हेमोरेजिक फिभर विथ रिनल सिन्ड्रोममा मुख्यतया मिर्गौलामा असर पर्छ र मिर्गौला फेल हुन सक्छ। भेरियन्टअनुसार लक्षण तथा चिन्ह फरक पर्न सक्छ। हान्टा भाइरसका भेरियन्टमध्ये एन्डिस स्ट्रेन मात्र मानिसबाट मानिसमा सर्ने भेरियन्ट हो। यो चिली र अर्जेन्टिनामा समय-समयमा फैलिने गरेको छ।

निदानका उपायहरु के हुन सक्छन् ?

शंकास्पद अवस्थाः संक्रमण फैलिएको स्थानमा बसेको वा भ्रमण गरेको, शंकास्पद वा संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेको तथा एएनडीभी संक्रमणका शंकास्पद लक्षण भएका व्यक्ति।

सम्भावित अवस्थाः शंकास्पद अवस्थाका लक्षण तथा चिन्ह भएका, स्वास्थ्यकर्मीले परीक्षण गरेको, संक्रमित वा सम्भावित केससँग इपिडेमियोलोजिकल सम्बन्ध तथा सम्पर्कमा रहेको तर प्रयोगशाला परीक्षण नभएको व्यक्ति।

पुष्टि भएको अवस्थाः आरटी-पिसिआर वा सेरोलोजी परीक्षणबाट एएनडिभी संक्रमण पुष्टि भएको व्यक्ति।

समस्या नदेखिएको अवस्थाः शंकास्पद वा सम्भावित भए पनि आरटी-पिसीआर वा सेरोलोजी परीक्षणमा एएनडिभी नेगेटिभ आएको व्यक्ति अथवा सम्पर्कमा आएको समयदेखि अधिकतम् ओथारो अवधि पार गरिसकेको व्यक्ति।

उपचार कसरी हुनसक्छ ?

हान्टा भाइरस संक्रमणको कुनै विशेष उपचार, औषधि, खोप वा निश्चित एन्टिभाइरल उपचार उपलब्ध छैन। संक्रमितलाई लाक्षणिक तथा सहयोगात्मक उपचार मात्र गरिन्छ।

अफवाह तथा सामाजिक सञ्जालका भ्रममा परी अनावश्यक आतंकित हुने वा गराउने काम गर्नु हुँदैन। सरकारले तोकेको आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्नुपर्छ।

रोडेन्टबाट सर्ने रोगहरू, स्क्रब टाइफसलगायतका रोगहरूको नियन्त्रणका लागि मुसा तथा सम्बन्धित रोगबारे थप खोज तथा अनुसन्धान आवश्यक छ। यसले भविष्यमा हुन सक्ने महामारी तथा रोगको जोखिम व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ।

व्यक्तिगत तथा वातावरणीय सरसफाइ नै मुख्य बचावटका उपाय भएकाले मुसा नियन्त्रण, सरसफाइमा सतर्कता, खाद्य सुरक्षा तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्छ।

घर तथा वरपरको वातावरण सफा राख्ने, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्ने तथा मुसाको फोहोर सफा गर्दा पिपिई, मास्क तथा पञ्जा प्रयोग गर्नुपर्छ।

साबुनपानीले नियमित हात धुने, भीडभाडमा नजाने, शंकास्पद वा सम्भावित संक्रमितसँग भौतिक दूरी कायम गर्ने तथा मास्क प्रयोग गर्नु आवश्यक छ।

रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना, जोखिम सञ्चार तथा समुदाय सहभागितालाई बढावा दिनुपर्छ। ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

नेपालको तयारी कस्तो छ ?

नेपालमा हालसम्म हान्टा भाइरस संक्रमण पुष्टि भएको आधिकारिक तथ्यांक छैन। तथापि, अमेरिकाको सीडीसीको एक रिपोर्टअनुसार सन् २०१७ मा नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनी यात्रुमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि हान्टा भाइरस पुष्टि भएको थियो। उनले नेपालमा बस्दा लजमा मुसा प्रजातिका जनावरसँग सम्पर्क भएको बताएका थिए।

एन्डिस भाइरसबाट संक्रमित मुसा नेपालमा नपाइने, हाल संक्रमित रहेको जहाजका यात्रु नेपाली नभएको तथा कुनै यात्रु नेपाल नआएको जानकारी भए पनि छिमेकी राष्ट्रका नागरिक जहाजमा रहेको उल्लेख गरिएको छ।

नेपालमा हालसम्म हान्टा भाइरस पुष्टि नभएकाले जोखिम कम मानिए पनि अन्तर्राष्ट्रिय उडान तथा आवागमन, कमजोर निगरानी तथा परीक्षण प्रणालीका कारण सम्भावित जोखिमलाई पूर्ण रूपमा नकार्न सकिँदैन। नेपालमा दैनिक ४-५ दर्जनभन्दा बढी मुसाको टोकाइका बिरामी अस्पताल आउने गरेका तथ्यांक छन्।

एशियाली स्ट्रेन विशेषगरी रसिया, जापान तथा कोरियामा देखिने गरेको छ, जहाँ नेपालीहरूको आवतजावत उल्लेख्य छ। तर आवतजावत गर्ने व्यक्तिहरूको न त पर्याप्त स्क्रिनिङ छ न त निगरानी नै।

नेपालमै हान्टा भाइरस निदान गर्न सक्ने सुविधा हालसम्म उपलब्ध छैन। परीक्षणका लागि किट नेपालमै ल्याउने वा नमुना विदेश पठाएर परीक्षण गर्ने भन्ने विषयमा समेत स्पष्ट निर्णय भइसकेको छैन।

त्यसैले सरकार जोखिम नभएको भन्दै प्रचारप्रसारमा मात्र सीमित नभई परीक्षण, निगरानी, निदान, उपचार व्यवस्थापन तथा पूर्वतयारी र जनचेतनामूलक कार्यमा सक्रिय हुन आवश्यक छ।

(लेखक वीर अस्पतालमा मुख तथा दन्त सर्जन प्रमुख हुन्)

प्रतिक्रिया