
संसदमा अर्थमन्त्रीबिनै छलफल भएको भन्दै सांसद अमरेश सिंह आक्रोशित
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अर्थमन्त्रीको अनुपस्थितिमा भइरहेको प्रि–बजेट छलफलप्रति असन्तुष्टि जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेट छलफल चलिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित थिए भने सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित भएका थिए ।
यसप्रति आपत्ति जनाउँदै सांसद सिंहले अर्थमन्त्री बिना बजेटसम्बन्धी छलफल हुनु संसदीय परम्परा विपरीत भएको टिप्पणी गरे । उनले व्यङ्ग्य गर्दै भने, “बजेट अर्थमन्त्रीले बनाउने सिस्टम छ। परम्परा भत्काउँदै गयो भने संसदको औचित्य समाप्त हुन्छ।”
उनले विगत दुई दशकमा पहिलो पटक अर्थमन्त्री बिना प्रि–बजेट छलफल भएको देखेको उल्लेख गर्दै यसलाई नयाँ अभ्यासको रूपमा लिन नहुने बताए ।
सिंहले भने, “२० वर्षको कार्यकालमा अर्थमन्त्री नभए पनि प्रि–बजेट छलफल भएको पहिलोपटक देख्दै छु। यो कस्तो परम्पराको सुरुवात हुँदै छ ? नयाँको नाममा सबै चिज भत्काउने होइन।”
उनले संसदीय प्रणालीलाई कमजोर पार्ने गतिविधि स्वीकार्य नहुने भन्दै आवश्यक परे सम्पूर्ण संरचना नै पुनर्विचार गर्नुपर्ने टिप्पणी गरे ।
उनका अनुसार बजेट प्राविधिक टिमले तयार गर्ने भए पनि अर्थमन्त्रीले राजनीतिक मार्गदर्शन दिने भएकाले यस्तो छलफलमा मन्त्रीको उपस्थिति आवश्यक हुन्छ ।



कागजपत्र |
