
डडेल्धुरा अस्पतालमा रास्वपाको ज्ञापनपत्र, नयाँ समिति नबनेसम्म कामकाज रोक्न माग
डडेल्धुरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुरा जिल्ला समितिले डडेल्धुरा अस्पतालमा नयाँ समिति गठन नभएसम्म कुनै पनि कामकारबाही अघि नबढाउन आग्रह गरेको छ ।
जिल्ला सभापति सुरेन्द्र अवस्थी नेतृत्वको टोलीले अस्पताल पुगेर नयाँ व्यवस्थापन समिति गठन नहुँदासम्म हालको काम रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा अस्पताल व्यवस्थापन समितिको कार्यकाल समाप्त भइसकेको दाबी गर्दै अब नयाँ समिति नबन्दासम्म कुनै पनि कामकाज अघि नबढाउन आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा भनिएकाे छ, “यस अस्पतालको अस्पताल व्यवस्थापन समितिको कामकाजको समयावधि मिति २०८३–०२–०३ गते समाप्त भएकोले अब उपरान्त नयाँ समिति नबनेसम्म व्यवस्थापन समितिका कुनै पनि कामकार्य नगर्न नगराउनहुन यहाँमार्फत सबैको ध्यानाकर्षण गराउन चाहन्छौं ।”
तर अस्पताल प्रशासनका अनुसार यहाँ व्यवस्थापन समिति नभई विकास समिति कार्यरत रहेको छ ।
रास्वपाको उक्त कदमलाई लिएर अस्पतालको कामकारबाहीमा हस्तक्षेप गर्न खोजिएको भन्दै आलोचना समेत भएको छ । केहीले यसलाई राजनीतिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा टिप्पणी गरेका छन् ।
अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले भने अस्पताल सञ्चालन सम्बन्धी निर्णय सम्बन्धित निकायको अधिकार क्षेत्रभित्र पर्ने बताएका छन् । उनले ज्ञापनपत्रलाई आग्रहका रूपमा लिएको उल्लेख गर्दै अस्पतालको कामकाज कसरी अघि बढ्ने भन्ने निर्णय पनि सम्बन्धित निकायबाटै हुने स्पष्ट पारे ।



कागजपत्र |
