चितवनमा जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, एक गम्भीर


चितवन-  चितवनमा जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ भने एक जना गम्भीर अवस्थामा उपचाररत छन् ।

इच्छाकामना गाउँपालिका–१ कुलबाङका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको विषाक्त च्याउ सेवनपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारले जंगली च्याउ सेवन गरेका थिए । सोही परिवारका पाँच जना च्याउ खाएपछि बिरामी परेका थिए ।

तीमध्ये तीन जनालाई जेठ १ गते नै बिरामी अवस्थामा भरतपुर अस्पताल ल्याइएको थियो ।

हाल १३ वर्षीया मनिता चेपाङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया