
एसईई नतिजा कमजोर आएपछि प्रधानाध्यापकले दिए राजीनामा
डडेल्धुरा- एसईई २०८२ को नतिजा सन्तोषजनक नआएको भन्दै डडेल्धुराको परशुराम नगरपालिका–१२ स्थित शैलेश्वरी माध्यमिक विद्यालय तुलाभाडीका प्रधानाध्यापक तेजबहादुर बिष्टले पदबाट राजीनामा दिएका छन्।
२०८१ साल पुसमा शीव पार्वती माध्यमिक विद्यालय पोखरी कटालबाट सरुवा भई शैलेश्वरी माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका बिष्टले बुधबार राजीनामा दिएका हुन्।
विद्यालयको शैक्षिक उपलब्धि अपेक्षाअनुसार हुन नसकेको जिम्मेवारी स्वीकार गर्दै उनले पदबाट अलग हुने निर्णय गरेको बुझिएको छ।
एसईई २०८२ मा विद्यालयबाट २० जना विद्यार्थी सहभागी भएकामा तीन जना मात्रै उत्तीर्ण भएका थिए। कमजोर नतिजापछि प्रधानाध्यापक बिष्टले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको स्थानीय स्रोतले जनाएको छ।
उनको राजीनामापछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबीच यस विषयमा विभिन्न तहमा छलफल सुरु भएको छ।



कागजपत्र |
