
तस्करीमा संलग्न प्रहरीलाई ठाउँको ठाउँ कारबाही गरिन्छ : आईजीपी कार्की
बारा- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमा नाकामा बसेर तस्करीमा संलग्न हुने वा तस्करलाई सहयोग गर्ने प्रहरी कर्मचारीमाथि तत्काल कारबाही गरिने चेतावनी दिएका छन्।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आईजीपी कार्कीले विगतमा जस्तो छुट अब नहुने स्पष्ट पारे। उनले सीमा क्षेत्रमा कार्यरत प्रहरीले तस्करीमा सहयोग गरेको पाइएमा “टिकट काटेर” ठाउँको ठाउँ कारबाही सुरु गरिने बताए।
कार्कीले अहिले तस्करी नियन्त्रण कडाइ गरिएकाले पहिलेझैँ अवैध कारोबार गर्न नपाएकाहरूले प्रहरी संगठनलाई बदनाम गराउने प्रयास गरिरहेको समेत उल्लेख गरे। यस्तो अवस्थामा सीमा क्षेत्रमा खटिएका प्रहरी कर्मचारी स्वार्थमा लागेर चुक्न नहुने उनको भनाइ थियो।
“सीमा नाकामा खटिएका प्रहरी चुक्यो भने संगठनकै बदनाम हुन्छ, त्यसैले सबै सचेत हुनुपर्छ,” उनले भने।
सिम्रौनगढ र बन्कुल क्षेत्रमा पटक–पटक तस्करीका मालसामान बरामद हुन थालेपछि आईजीपी कार्कीले प्रहरीलाई यस्ता गतिविधिमा संलग्न नहुन सचेत गराएका हुन्।



कागजपत्र |
