
संघीय संसदअन्तर्गत तीन समितिहरूको बैठक बस्दै
काठमाडौं – संघीय संसदअन्तर्गत आज विभिन्न तीनवटा विषयगत समितिको बैठक बस्दैछ । आज बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा छुट्टाछुट्टै कार्यसूचीमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को समग्र अवस्थाबारे प्रस्तुतीकरण हुने कार्यसूची रहेको छ । बैठकमा परिषद्द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रमहरू, विद्यमान समस्या, चुनौती तथा नार्कको आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत छलफल गरिने जनाइएको छ ।
त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ । उक्त बैठकमा आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरी आयोगको हालसम्मको प्रगति, कार्यसम्पादनमा देखिएका जटिलता र भावी योजनाका विषयमा संवाद गरिनेछ ।
यस्तै राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौँ उपत्यकाभित्रको सुकुमबासी व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित भई छलफल हुने कार्यसूची तय गरिएको छ । उपत्यकाको सहरी व्यवस्थापन र सुकुमबासी समस्याको दीर्घकालीन समाधानका उपायहरूबारे बैठकमा सरोकारवाला निकायसँग परामर्श गरिनेछ ।
आजका बैठकहरूमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा निकायका प्रमुखहरूको समेत उपस्थिति रहने र विविध विषयहरूमा समेत छलफल हुने सचिवालयले उल्लेख गरेको छ ।



कागजपत्र |
