
अमेरिका पठाउने नाममा युवती बन्धक बनाएकाे आरोपमा वडाअध्यक्ष पक्राउ
काठमाडौं- अमेरिका पठाइदिने प्रलोभन देखाई एक युवतीलाई विभिन्न देश हुँदै बन्धक बनाउने, जबरजस्ती करणी गर्ने तथा करोडौँ रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक वडा अध्यक्ष पक्राउ परेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुतलीबजार नगरपालिका–४ का ४४ वर्षीय वडा अध्यक्ष शिवबहादुर थापालाई कास्कीको पोखराबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थापाले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडित युवतीसँग सम्पर्क गरी ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने प्रलोभन देखाएका थिए । सोही योजनाअनुसार २०७८ वैशाख ११ गते पीडितलाई काठमाडौँबाट दुबई लगिएको र एक महिनासम्म होटलमा राखिएको जनाइएको छ ।
दुबईमा रहँदा भिसा प्रक्रियाका नाममा एजेन्टमार्फत पीडितको पासपोर्ट, फोटो तथा करिब ८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा लिएर भिजिट भिसा बनाइएको थियो । त्यसपछि उनलाई बहराइन, टर्की, ब्राजिल र पेरु हुँदै कोलम्बिया पुर्याइएको अनुसन्धानमा खुलेको छ ।
कोलम्बियामा करिब एक वर्षसम्म बन्धक बनाइ राखिएको र सो क्रममा शारीरिक तथा मानसिक यातना दिनुका साथै जबरजस्ती करणी समेत गरिएको ब्यूरोले जनाएको छ ।
पीडितले नेपाल फर्काइदिन आग्रह गर्दा आरोपित थापाले उल्टै थप रकम माग गरेको बताइएको छ । ज्यान जोगाउन पीडितले अमेरिकामा रहेका साथीमार्फत थापाले उपलब्ध गराएका बैंक खाता तथा वेस्टर्न युनियनमार्फत पटक–पटक गरी ९८ हजार ९०० अमेरिकी डलर पठाएकी थिइन् ।
त्यसपछि थापाले आफ्ना एजेन्टमार्फत पीडितलाई कोलम्बियाबाट पानामाको जङ्गल हुँदै मेक्सिकोको सीमासम्म पुर्याउन लगाएका थिए । तर त्यहाँ पुनः २० हजार डलर माग गरिएको र रकम दिन नसकिएपछि पीडितलाई मेक्सिकोमै अलपत्र छाडिएको प्रहरीले जनाएको छ ।
अलपत्र अवस्थामा रहेकी पीडित अमेरिकामा रहेका आफन्त तथा नेपाली दूतावासको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर २०८३ वैशाख २ गते नेपाल फर्किएकी थिइन् ।
नेपाल फर्किएपछि दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै ब्यूरोले थापालाई २०८३ वैशाख २८ गते पोखराबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी उनलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
