मुख्यमन्त्री बन्ने बित्तिकै विजयको घोषणा- २०० युनिट नि:शुल्क बिजुली


चेन्नई – तमिलगा वेत्री कडगमका अध्यक्ष तथा चर्चित अभिनेता सी. जोसेफ विजय तमिलनाडुको ९ औँ मुख्यमन्त्री बनेका छन् ।

आइतबार बिहान १०ः१५ बजे आयोजित विशेष समारोहमा विजयले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रममा भारतीय कांग्रेसका नेता राहुल गान्धीलगायत विभिन्न राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

शपथ ग्रहणका क्रममा विजयले भारतको संविधानप्रति पूर्ण निष्ठा राख्दै तमिलनाडुको मुख्यमन्त्रीका रूपमा निष्पक्ष ढंगले जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“म सी. जोसेफ विजय भारतको संविधानप्रति सच्चा आस्था र निष्ठा राख्नेछु । भारतको एकता र अखण्डता कायम राख्दै आफ्नो विवेकअनुसार कर्तव्य पालन गर्नेछु । कसैसँग डराउने छैन र कुनै एकतर्फी आदेश मान्ने छैन । सबै मानिससँग न्याय गर्नेछु,” उनले शपथका क्रममा भने ।

मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै विजयले जनलक्षित विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै आफ्नो कार्यकाल सुरु गरेका छन् । उनले पहिलो चरणमै तीनवटा महत्त्वपूर्ण फाइलमा हस्ताक्षर गरेका छन् ।

त्यसअन्तर्गत राज्यका नागरिकलाई २०० युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरिएको छ । साथै महिलाको सुरक्षालाई प्राथमिकतामा राख्दै ‘महिला सुरक्षा दल’ गठन गर्ने तथा लागूऔषध नियन्त्रणका लागि ‘एन्टी ड्रग्स स्क्वाड’ गठन गर्ने आदेशमा पनि उनले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया